तपाईँ सुन्दै हुनुहुन्छः

अर्म–पर्ममा आलुखेती (फोटोफिचर)

म्याग्दी । बेनी नगरपालिका– ३ भकिम्ली स्थित भुकभुकेका कृषक आलु खेती भित्र्याउन व्यस्त छन् । मूख्यबालीको रुपमा रहेको आलुलाई असारको मनसुन वर्षा सुरु भएसँगै यहाँका किसानहरू अर्मपर्मबाट आलु भित्र्याउन व्यस्त छन् ।

भकिम्लीमा लोकल आलु राम्रो उत्पादन हुन्छ । यहाँ रातो, सेतो निलो र गुलाफी कलरको आलु लगाउने चलन छ । पुष र माघमा लगाएको आलु असारमा खन्ने प्रचलन रहेको कृषक सरिता केसीले बताउनुभयो । यहाँका किसानको आम्दानीको मुख्य स्रोत नै आलु हो । अर्मपर्म गरेर आलु खन्ने काम भइरहेको उहाँले बताउनुभयो । ‘यस वर्ष आलु राम्रो फलेको छ ।’ राम्रो मूल्य पाउन बजारको समस्या देखिएको छ ।” उहाँले भन्नुभयो । “आलु पकेट क्षेत्र घोषणा गरी बेनी नगरले अनुदानमा विउँ विजन दिएको थियो । अहिले आलु उत्पादन राम्रो छ । उचित मूल्यमा आलु बिक्रीको लागि बजारको व्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिनुपर्छ ।” मेहनत अनुसारको उत्पादन राम्रो भएपनि उचित मूल्य पाउन सकेका छैनौ ।

पुष र माघ लगाएको आलु बर्खा लागेसँगै भुकभुके, ठोडनेरी, मुसुङ बस्तीका एकसय ५० घुर धुरीले बारीमा लगाएको आलु भित्र्याउनमा व्यस्त रहेको वडा सदस्य रत्न जिसीले बताउनुभयो । “परम्परागत रुपमा नगदेबालीको रुपमा आलु र भाङ्गो लगाउने प्रचलन रहेको छ। यसबर्ष उपल्लो भकिम्लीमा आलु उत्पादन राम्रो भएकोले कृषकलाई आलु कहाँ राखौँ भएको छ।” उहाँले भन्नुभयो ।“ एक घरले १० देखि २५ मुरीसम्म आलु उत्पादन गरेका छन् । उत्पादित आलुलाई बजारको समस्या सिर्जना भएको छ ।”

बजारको समस्या बीच स्वादिलो आलु भएको कारण भकिम्लीसँग जोडिएका आसपासका गाउँहरू सिंगा, राखु सुर्केमेला लगायत बेनी बजारमा पाथीको दुईसय रुपैयाँमा बिक्री गर्दै आएको कृषक एवम् वडा सदस्य जिसीले जानकारी दिनुभयो । यहाँ अर्मपर्मबाट आलु खन्ने, कोदो रोप्ने चलन परम्परागत रुपमा रहँदै आएको छ भने सामूहिक रुपमा काम गर्न पनि सजिलो हुने अनुभव जिसीले सुनाउनुभयो ।

अन्य खाद्यान्न बाली कम फल्ने भएकाले यहाँका किसानले भेडाबाख्रा पालन र मूख्यबालीको रुपमा आलु उत्पादन गरेर बिक्रीमार्फत आएको पैसाले घरखर्च चलाउने र छोराछोरी पढाउनेमा प्रयोग गर्दे आएका छन् ।

यहाँका किसानले घरमा आएका पाहुनालाई आलु खुवाउनेदेखि कोसेली पठाउनेसमेत गर्छन् । हिमाली जिल्ला म्याग्दीमा किसानले आलु उत्पादन राम्रो गर्दे आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button