तपाईँ सुन्दै हुनुहुन्छः

वर्षायाममा खाद्यान्न अभाव नहुने

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने जनाएको छ । देशभरको गोदाममा खाद्यान्न मौज्दात रहेको, थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार हाल काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा ३६ हजार तीन सय ५६ क्विन्टल खाद्यान्न मौज्दात छ । अति दुर्गम तथा दुर्गम जिल्लामा २५ हजार पाँच सय पाँच क्विन्टल खाद्यान्न मौज्दात रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रतिस्पर्धाको माध्यमबाट खुला बजारबाट थप खाद्यान्न खरिद भइरहेको र थप चामल खरिदका लागि बोलपत्र आह्वान गर्ने प्रक्रिया पनि जारी रहेको छ । हाल २६ हजार तीन सय ७५ क्विन्टल धान मौज्दात छ ।

भारतबाट आयात कोटाअन्तर्गत साल्ट ट्रेडिङमार्फत ३४ हजार तीन सय २० क्विन्टल गहुँ तत्काल प्राप्त हुनेछ । कम्पनीसँग कूल दुई लाख ६६ हजार तीन सय क्विन्टल खाद्यान्न मौज्दात रहनेछ । हाल खुला बजारबाट प्रतिस्पर्धाका माध्यमबाट सम्झौता भएको ८९ हजार एक सय क्विन्टल खाद्यान्न कम्पनीको गोदाममा आइरहेको र भारतबाट आयात हुने खाद्यान्न पनि लोड भइसकेको जनाइएको छ ।

चालु आर्थिक वर्षमा हालसम्म पालिका स्तरबाट माग भएका स्थानमा ४७ हजार तीन सय ३४ क्विन्टल चामल वितरण भइसकेको छ । कतिपय स्थानमा भने माग नै नभएकाले आपूर्ति नगरिएको कम्पनीले जनाएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button