‘परिवर्तन र उपलब्धिलाई चलचित्रको माध्यमबाट प्रचार–प्रसार गर्न जरुरी’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशमा भएका परिवर्तन र उपलब्धिलाई चलचित्रको माध्यमबाट प्रचार–प्रसार गर्न जरुरी रहेको बताउनुभएको छ ।
चाबहिलस्थित चलचित्र विकास बोर्डद्वारा आयोजित २३ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले सुन्दरता, संस्कृति र भौगोलिकतालाई चलचित्रमा समेट्न आग्रह गर्नुभयो ।

“अहिले प्रविधिको प्रयोगले प्रचार गर्नु जरुरी छ । हाम्रो कला र संस्कृतिसँगै देशमा भएका महत्त्वपूर्ण उपलब्धिलाई पनि विषय बनाउनु चलचित्रकर्मीको दायित्व पनि हो”, उहाँले भन्नुभयो, “अन्य माध्यमभन्दा चलचित्र निकै प्रभावकारी छ । यसबाट भन्न र दिन खोजेको सन्देशलाई सजिलै बुझाउन सकिन्छ । त्यसैले हाम्रो यथास्थितिसँगै उपलब्धि समेत समेट्नुपर्छ ।”
उहाँले विसं २०२६ मै बनेको ऐनअनुसार चलचित्र क्षेत्र चलिरहँदा प्रविधिको विकाससँगै त्यसलाई फेरबदल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाल खुला स्टुडियो भएकाले सुन्दरताको प्रचार–प्रसार चलचित्र र प्रविधिका माध्यमबाट गर्न आग्रह गर्नुभयो ।

वार्षिकोत्सव समारोहमा ‘कथा बैङ्क’ अन्तर्गत सात कथानक चलचित्र र छ लघु चलचित्रका लेखकलाई पुरस्कार प्रदान गरिएको थियो । यसका साथै यसै वर्षदेखि सुरु गरिएको लघु चलचित्र प्रतियोगितामा सूर्य शाहीले निर्देशन गर्नुभएको ‘व्हिल्स अन द बस’ (प्रथम), मिङ्सो लिम्बूले निर्देशन गर्नुभएको ‘जुन्को’ (दोस्रो) र किरण श्रेष्ठ र विभु पौडेलले संयुक्त रूपमा निर्देशन गर्नुभएको ‘एट अनोदर विन्टर’ (तृतीय) लाई पुरस्कार प्रदान गरिएको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र नीतिसहितको विविध समस्यालाई समधान गर्न आफूहरू प्रक्रियागत रूपमा अगाडि बढिसकेको जानकारी दिनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्