तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि पुलिसकी राममायालाई

काठमाडौँ । सशस्त्र प्रहरी परिवार महिला सङ्घको २२ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा भएको ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८०’ को उपाधि नेपाल पुलिस क्लबकी राममाया बुढाले हात पार्नुभएको छ ।

उहाँले एक घण्टा २६ मिनेट नौ सेकेन्डमा २१ किलोमिटर दूरी पार गर्दै उपाधि उचाल्नुभएको हो । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकको रङ्गशालाबाट सुरु भएको म्याराथन स्वयम्भू, कलङ्की, बल्खु, सानेपा, एकान्तकुना, सातदोबाटो, एन्फा फुटबल ग्राउन्डबाट सोही रुट फिर्ता हुँदै स्टार अस्पताल सानेपा, बल्खु, कलङ्की, सीतापाइला, कारखानाचोक भई पुनः हल्चोक रङ्गशाला आएर समापन भएको थियो ।

प्रतियोगितामा प्रथम हुने नेपाल पुलिस क्लबकी राममाया बुढाले रु एक लाख प्राप्त गर्नुभएको छ । दोस्रो हुने नेपाल एपिएफ क्लबकी बिन्दाधन्के श्रेष्ठले एक घण्टा २७ मिनेट २७ सेकेन्डमा निर्धारित दूरी पार गरी रु ७५ हजार तथा तेस्रो हुने त्रिभुवन आर्मी क्लबकी पूर्ण राज्यलक्ष्मी न्यौपानेले एक घण्टा २७ मिनेट ५० सेकेन्डमा पार गरी रु ५० हजार पुरस्कार जित्नुभएको छ ।

चौथो हुने नेपाल एपिएफ क्लबकी आशा राउतले एक घण्टा ३२ मिनेट १८ सेकेन्डमा पार गरी रु २५ हजार र पाँचौँ हुने नेपाल पुलिस क्लबकी सुमित्रा चौधरीले एक घण्टा ३२ मिनेट २८ सेकेन्डमा पार गर्दै रु १५ हजार प्राप्त गर्नुभएको छ ।

उपाधि हासिल गर्ने धावकहरूलाई आइतबार वार्षिकोत्सवमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब लगायत सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालय तथा देशैभरका महिला धावक गरी कुल ४२ महिलाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button