तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाबाट विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।

यस अघि विनियोजन विधेयक २०८० माथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डा महतले देशको समन्यायिक तथा समानुपातिक विकास सुनिश्चित गर्ने गरी बजेट विनियोजन गरिएको बताउनुभयो ।

अर्थमन्त्री डा महतले निर्धारित समय भित्रै ठेक्का लाग्ने सुनिश्चित गर्ने, विनियोजित बजेटको रकमान्तरण रोक्ने जस्ता सुधारका प्रयासहरू बजेटमा गरिएको हुनाले यसको कार्यान्वयनले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने सहयोग पुग्ने बताउनुभयो ।

यस अधि विधेयक माथिको सैद्धान्तिक छलफलमा भाग लिन सांसदहरुले विगतका अधुरा कार्यक्रमहरूले निरन्तरता पाउन नसकेको, साना र टुक्रे योजनाहरूमा समेत बजेट विनियोजन गरिएको हुनाले कार्यान्वयन हुनेमा शङ्का रहेको बताउनुभयो ।

यसअघि आजै बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा अर्थमन्त्री डा महतले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०८० सभा समक्ष प्रस्तुत गर्नुभएको थियो ।

यस्तै आजको पहिलो बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० पारित गरेको छ ।

बैठकमा कानून न्याय तथा संसदीय मन्त्री धनराज गुरुङले राख्नुभएको प्रस्ताव ध्वनि मतका आधारमा सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रिय सभाको अर्को बैठक असार १८ गते सोमबार दिउँसो १ बजे र १ मिनेटमा बस्ने छ ।

राष्ट्रिय सभामा असार १८ गतेदेखि २२ गते विनियोजन विधेयक २०८० का विभिन्न शीर्षकहरू माथि छलफल हुने र असार २४ गते देखि २६ गतेसम्म छलफलमा उठका प्रश्नहरू माथि विभागीय मन्त्रीले जवाफ दिने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button