तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा साढे १० हजारलाई वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा

नेपालगञ्ज । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । 

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालमा २०६७ सालदेखि सुरु भएको सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ ।

सामीले बाँकेमा गरिएका वार्षिक क्रियाकलापबारे जानकारी गराएको छ । कार्यक्रम सञ्चालन भएका पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थितिमा बैठक सम्पन्न भएको थियो । 

वार्षिक समीक्षा बैठकमा सामीले १० हजार ५ सय २ जनालाई व्यक्तिगत तथा सामूहिक परामर्श सेवा प्रदान गरेको जनाएको छ । जबकि उसको लक्ष्य ४ हजार ५ सय थियो । रिटर्नी स्वयंसेवक परिचालनमार्फत घरभेट गरिएको सङ्ख्या ४४ सय ७६ छ । 

यस्तै वैदेशिक रोजगारीमा जान चाहने सम्भावित कामदारहरूलाई ८ पटक गहन अभिमुखीकरण कार्यक्रम गरिएको सामी कार्यक्रमका संयोजक कमलसिंह नेपालीले बताउनुभयो । 

१६ पटक समुदाय अभिमुखीकरण कार्यक्रम, प्रहरी र पत्रकारहरूसँग १÷१ पटक अन्तरक्रिया, समुदायका अगुवाहरूलाई आप्रवासनको असर तथा प्रभाव तथा कामदारलाई सामाजिक बहिष्करण र प्रभाव न्यूनीकरण सम्बन्धि कार्यक्रम ४ पटक गरिएका छन् ।

संयोजक नेपालीका अनुसार स्थानीय तहमा मनोसामाजिक विषयको दिगोपनको लागि अन्तरक्रिया कार्यक्रम २ पटक, स्थानीय तहको विषयगत शाखाहरूसँग अन्तरक्रिया १ पटक र सुरक्षित वैदेशिक रोजगारको सवालमा स्थानीय जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम ४ पटक गरिएको छ । 

यस्तै सामी परियोजना कार्यान्वयनको लागि स्थानीय सरकार कार्यक्रम व्यवस्थापन समितिको पालिकास्तरीय बैठक ८ पटक, स्थानीय सरकार कार्यक्रम समन्वय समितिको बैठक २ पटक र सम्बन्धित सरोकारवालाहरूबाट परियोजना अनुगमन तथा मूल्याङ्कन ८ पटक भएको छ ।

सामाजिक परिचालन अधिकृत घनश्याम ओलीले सामी कार्यक्रमले सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता र निःशुल्क सीप सेवा प्रदान गरिरहेको बताउनुभयो । १६ जनालाई वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ भने व्यक्तिगत मनोसामाजिक परामर्श सेवा पाउनेको सङ्ख्या ६४ रहेको सामी कार्यक्रम संयोजक नेपालीले जानकारी दिनुभयो ।

सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । 

यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button