बाँकेमा १० प्रतिशत मात्र रोपाइँ
नेपालगञ्ज । बाँकेमा १० प्रतिशत मात्र रोपाइँ भएको छ । असारको मध्यसम्ममा जिल्लाभर १० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । बाँकेमा ३६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमदले बताउनुभयो ।
“जुन किसानको घरमा सिँचाइ सुविधा छ, बोरिङ, ट्युबवेल वा सिक्टा सिँचाइ आयोजनाको पानी पुगेको ठाउँमा शतप्रतिशतसम्म रोपाइँ भएको छ, कतै ५० प्रतिशत छ, कतै २० प्रतिशत भएको छ, तर सिँचाइ नभएको ठाउँमा किसानले ब्याड पनि राख्न पाएका छैनन्,” अहमदले भन्नुभयो । सुख्खा क्षेत्र भएका कारण बाँकेमा विगतदेखि नै ढिला रोपाइँ हुने गरेको बताउँदै उहाँले आत्तिइहाल्नुपर्ने अवस्था नभएको जिकिर गर्नुभयो । बाँकेमा श्रावणसम्म पनि धान रोपाइँ हुँदै आएको अहमदको भनाई छ । तर, ढिला रोपाइँ हुँदा छिटो फल्ने र सुख्खा सहने जातको धान रोप्न उहाँको सुझाव छ ।
यसैबीच आज २०औँ राष्ट्रिय धान दिवस, बाँकेमा पनि डुडुवा गाउँपालिका वडा नम्बर २ कोलहीमा विशेष कार्यक्रम गरेर धान दिवस मनाइँदैछ ।







प्रतिक्रिया राख्नुहोस्