तपाईँ सुन्दै हुनुहुन्छः

स्कुलमा ‘बुक फ्री डे’ : व्यवहारिक तथा जीवन उपयोगी सिप सिक्दै विद्यार्थी

चितवन ।  भरतपुर १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलको कक्षा ४ मा अध्ययनरत प्रविशा पाण्डेले स्कुलमा नै रोटी बनाउन सिक्नुभयो । प्रविशा अहिले सजिलै रोटी पकाउन जान्ने हुनु भएको छ। स्कुलले मङ्गलवार सिकाउने व्यवहारिक शिक्षाकै माध्यमबाट प्रविशाले रोटी बनाउन जान्नुभएको हो  । उहाँ अहिले रोटी बेल्न र बनाउन सिपालु हुँदै हुनुहुन्छ । उहाँसँगै कक्षा ४ मा पढ्ने सुमन सिंह पनि अहिले सुख्खा रोटी पकाउन जान्ने हुनुभएको छ। उनी यस अघि रोटी पकाउन जान्दैन थिए । तर अहिले स्कुलमा उनले रोटी पकाउन सिकेका छन् । 

ग्रीनल्याण्डमै कक्षा ५ मा अध्ययनरत आरभ भुजेल र सद्दाम आलमले कपडामा स्त्री (आइरन) लगाउन सिकेका छन् । उनीहरू अब बिस्तारै आफ्नो कपडा आफै सजिलै आइरन लगाउन सक्ने हुँदैछन् । उनीहरूले पनि स्कुलमा नै आइरन गर्न सकेका हुन् । 

कक्षा ७ का जया कोइराला र कृष्टिना कोइराला पनि बाटेको धुप बनाउन सिक्दैछन् ।  जया र कृष्टिना जस्तै दीपिका सेढाँई र परीक्षित न्यौपाने पनि बाटेको धुप बनाउन सिकिरहेको बताउनुहुन्छ । उहांँहरु जस्तै ग्रीनल्याण्डका सयौँ विद्यार्थी अहिले व्यवहारिक ज्ञान सिक्दैछन् । स्कुलले यसरी नै विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यवहारिक र जीवन उपयोगी शिक्षामा जोड दिइरहेको छ । 

ग्रीनल्याण्डमा हरेक मङ्गलवार ‘बुक फ्री डे’ हुँदै आएको छ । कोरोना काल अघि नै बुक फ्री डे को अवधारणा ल्याएको स्कुलले गत वर्षबाट यसलाई प्रभावकारी तरिकाले अघि बढाइरहेको छ । मङ्गलवार कक्षा नर्सरीदेखि ७ सम्मका विद्यार्थीहरू किताब कापी बिना नै स्कुल आउनुहुन्छ । सो दिन उनीहरूले स्कुलमा किताब पढ्न पर्छ, न त कक्षा कार्य नै गर्नुपर्छ । सो दिन विद्यार्थीहरू व्यवहारिक तथा जीवन उपयोगी सिप सिक्नमा नै व्यस्त हुन्छन् । 

किताबका ज्ञानसँग बाह्य ज्ञानका लागि मङ्गलवार ‘बुक फ्रि डेमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयकी प्राचार्य इन्दिरा पन्त कार्की बताउनुहुन्छ । विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै व्यवहारिक ज्ञान तथा जीवन उपयोगी सिप सिकाउन सके भविष्यमा जस्तो सुकै परिस्थितिमा पनि जीवनयापन गर्न सक्ने उहाँको बुझाई छ । यसले विद्यार्थी जीवनलाई प्रभावकारी बनाउने पनि उहाँको विश्वास छ ।

‘मैले यो विषयमा धेरै सोचे । विद्यार्थीहरू सधैँ भारी झोला बोकेर आउँछन् । किताबी ज्ञानमा मात्रै सीमित हुँदैछन् । भविष्यमा हरेक परिस्थितिसँग कसरी जुध्लान् भन्ने लाग्थ्यो रु अबको आवश्यकता व्यवहारिक शिक्षा हो भन्ने सोचेर कोरोना अघि नै ‘बुक फ्री डे’ को अवधारणा ल्यायौँ, अहिले प्रभावकारी हुँदै छु,’ प्राचार्य कार्की भन्नुहुन्छ ।

‘बुक फ्री डे’ मा विद्यार्थीहरूलाई चिया बनाउन, रोटी बेल्न बनाउन, धुप बनाउन, उध्रिएको कपडा सिलाउन, कपडामा टाँक लगाउन, कपडा आइरन गर्न जस्ता क्रियाकलाप सिकाउने गरिएको छ । यसले अभिभावकहरूलाई पनि धेरै सहज हुने उहाँको भनाइ छ । ‘धेरै बच्चाको बुवा आमा बाहिर हुनुहुन्छ । अभिभावकको रुपमा हजुरबुवा हजुर आमा हुनुहुन्छ । उहाँहरू बिरामी हुँदा अब बच्चाहरूले तानो पानी तताएर, चिया नस्ता बनाएर दिन सक्छन् । आफ्नो काम आफैँ गर्न सक्छन् । यसो सोच्नुहोस् त यसले अभिभावकलाई कति सहज बनाउँछु,’ कार्की भन्नुहुन्छ । 

‘बुक फ्री डे’ बारे सुरुवाती दिनमा अभिभावकको प्रतिक्रिया कस्तो आउँला भन्ने चुनौती थियो । सामान्यतया अभिभावकहरूमा आफ्नो बालबच्चा स्कुल गएपछि पढ्नुपर्छ भन्ने सोच हुन्थ्यो । तर अभिभावकहरूले पनि ‘बुक फ्री डे’ लाई सहज रुपमा लिएर राम्रो प्रक्रिया दिएकोले यसको प्रभावकारिता झनै बढेको उहाँको भनाइ छ । यसले शिक्षालाई जीवनसँग जोड्न मद्दत मिल्ने उहाँको विश्वास छ । 

स्कुलमा सिकेका सिपलाई विद्यार्थीहरूले घरमा प्रयोगमा ल्याउन सक्ने सह प्राचार्य उपेन्द्र आचार्य बताउँछन् । अहिलेको शिक्षा सुगा रटाई भन्दा पनि बाहिरी संसारसँग जुध्न सक्ने किसिमको हुनुपर्ने आचार्यको भनाइ छ । यसैलाई मध्यनजर गर्दै विद्यालयमा बुक फ्री डे हुँदै आएको उहाँ बताउनुहुन्छ । यस्तै विद्यार्थीहरूलाई समूहमा काम गर्दाको प्रभावकारिता बुझाउन पनि मद्दत मिल्ने उहाँको भनाइ छ । 

‘अबको शिक्षा प्रयोगात्मक हुनुपर्छ । सुगा रटाई भन्दा बाहिरी संसारसँग जुध्न सक्ने किसिमको हुनुपर्छ । यसले विद्यार्थीहरूलाई भविष्यमा समस्यासँग आफैँ जुध्न सिकाउँछ । जस्तो सुकै परिस्थितिमा पनि जीवनयापन गर्न सिकाउँछु,’ आचार्यले भन्नुभयो । यसैको माध्यमबाट विद्यार्थीको क्षमता पहिचान पनि गर्न सकिने उहाँको भनाइ छ । 

यससँगै विद्यालयले विद्यार्थीहरूलाई योगा कक्षा पनि दिने गरेको छ । योगाले विद्यार्थीहरूलाई मानसिक रूपले स्वस्थ राख्न मद्दत मिल्ने आचार्य बताउनुहुन्छ । यस्तै खेलकुद, सङ्गीत, नृत्यलगायतका अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले जोड दिँदै आएको छ । सोही विद्यालयमा सङ्गीत कक्षा समेत लिँदै आएका कक्षा ९ मा अध्ययनरत करण विक भोइस अफ किड्सको उत्कृष्ट १६ भित्र परेका थिए । विद्यालयमा हुने सङ्गीत कक्षाले आफूलाई धेरै सहयोग पुगेको करण बताउँछन् । यस्ता अतिरिक्त क्रियाकलाप, व्यवहारिक शिक्षासँगै जीवन उपयोगी सिपमा विद्यालय जिल्लाकै उत्कृष्ट भएको विद्यालयको दाबी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button