तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा लम्पी स्किनको संक्रमण दोब्बरले बढ्यो 

चितवन  । चितवनका सातवटै स्थानीय तहमा अहिले गाईगोरू र केही भैँसीमा समेत लम्पी स्किन रोगको प्रकोप फैलिएको छ ।   हालसम्म एक सय ७६ वटा गाईगोरू र भैँसी मरेको तथ्याङ्क भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनसँग छ । जेठको तेस्रो साता सम्म जम्मा ८४ वटा गाईगोरू र भैँसी मरेका थिए । २० दिनको अन्तरालमा चितवनमा लम्पी स्किनबाट हुने मृत्यु र सङ्क्रमण दर दुवै दोब्बरले बढेको हो  ।

सबैभन्दा बढी पशुको मृत्यु इच्छाकामनामा ६२ वटा रहेको छ । जेठको २३ गतेको तथ्याङ्कमा यहाँ ५३ वटा गाईभैँसीको मृत्यु तथ्याङ्क रहेको पालिकाको पशु शाखाका प्राविधिक दीपक पुरीले बताउनुभयो  । वडा नं–१ र २ मा लम्पी स्किन नियन्त्रण उन्मुख रहेको उहाँले बताउनु भयो  । जेठ २३ गतेसम्म यस पालिकाको नौ सय ५२ वटा पशुमा सङ्क्रमण देखिएकोमा हाल एक हजार दुई सय सात पशुमा सङ्क्रमण भेटिएको छ ।

राप्ती नगरपालिकामा एक हजार चार सय पाँच गाईगोरूमा रोग देखिएकोमा १० वटा मरेका थिए । तर, असार ११ गतेसम्मको तथ्याङ्कअनुसार यस पालिकामा ३९ वटा गाईभैँसी मरेको र एक हजार पाँच सयमा सङ्क्रमण देखिएको छ ।

जेठ २३ को तथ्याङ्कमा कालिका नगरपालिकाका दुई सय ६५ वटामा यो रोगको सङ्क्रमण देखिएकोमा चारवटा मरेका छन् । तर, अहिले यस पालिकामा लम्पी सङ्क्रमित पशुको सङ्ख्या नौ सय नौ र मृत्यु १० वटा रहेको छ ।

खैरहनी नगरपालिकामा दुई सय चार वटामा रोग लागेकोमा जेठ २३ गतेसम्म कुनै पशुको मृत्यु भएको थिएन । तर, अहिले यस पालिकामा एक हजार ५४ पशुमा सङ्क्रमण देखिएको र १० वटाको मृत्यु भएको पालिकाले जनाएको छ । अहिले सबैभन्दा बढी प्रभावित क्षेत्र यसै नगरपालिका हो ।

भरतपुर महानगरमा अहिले लम्पी सङ्क्रमित गाईभैँसी आठ सय ९९ र मृत्यु ३४ वटा छन् । जेठ २३ को तथ्याङ्कअनुसार महानगरमा चार सय २५ वटामा रोग देखिएकोमा १३ वटा मृत्यु भएको थियो । रत्ननगरमा एक सय १० वटामा देखिएकोमा अहिले तीन सय १४ वटामा सङ्क्रमण देखिएको छ भने चारवटा पशुको मृत्यु भएकोमा अहिले १४ वटाको मृत्यु भइसकेको छ ।

त्यस्तै, माडी नगरपालिकामा जेठ २३ को तथ्याङ्कअनुसार दुई सय ५३ पशुमा रोग देखिएको थियो, मृत्यु भएको थिएन । असार ११ को तथ्याङ्कअनुसार यस पालिकामा नौ सय १६ गाई भैँसीमा सङ्क्रमण र छ वटाको मृत्यु भएको छ ।

वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले माडी, इच्छाकामना रत्ननगर, भरतपुर र राप्तीका स्थानीय तहले खोपको व्यवस्था गरेको जानकारी दिनुभयो  । जैविक सुरक्षा र उपचारमा विशेष ध्यान दिइएको उहाँको भनाई छ  । लम्की स्किन रोगको मुख्य लक्षणहरूमा घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागहरूमा साना–ठूला गिर्खाहरू देखिने, उच्च ज्वरो आउने, कचेरा, सिँगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने, ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने, बाँझोपना हुनेजस्ता समस्या देखा पर्ने हुन्छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button