तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा लिनेको सङ्ख्या १००१

नेपालगञ्ज । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले बाँकेमा सुरक्षित वैदेशिक रोजगारीका लागि १४ हजार बढीलाई सूचना सम्प्रेषण गरेको छ । सामीले आज नेपालगञ्जमा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर वैदेशिक रोजगारीमा जानेहरूलाई सही सूचना लिई सीप सिकेर मात्र जान परामर्श गर्दै आएको जनाएको छ ।

सामी कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको कार्यक्रम संयोजक कमलसिंह नेपालीले बताउनुभयो । नेपालमा २०६७ सालदेखि सुरु भएको सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ ।

सामी कार्यक्रमका सामाजिक परिचालन अधिकृत घनश्याम ओलीले सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता सेवा प्रदान गरिरहेको बताउनुभयो । उहाँका अनुसार बाँकेमा आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा लिनेको सङ्ख्या चालू आर्थिक वर्षमा १ हजार १ छ । यो साउन १ गतेदेखि जेठ ३२ गतेसम्मको तथ्याङ्क हो । यस्तै रिटर्नी स्वयंसेवक परिचालनमार्फत घरभेट गरिएको सङ्ख्या ४४ सय ७६ छ । गत आर्थिक वर्षमा निःशुल्क कानुनी सेवा लिनेको सङ्ख्या २७३ रहँदा चालू आर्थिक वर्षमा ६१ रहेको ओलीले जानकारी दिनुभयो ।

सामीले निःशुल्क तालिम दिएर सीप सिकाउने काम पनि गरिरहेको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित मनोसामाजिक समस्या भोगिरहेकाहरूको जीवनमा बदलाव ल्याउन पनि सामीले मनोसामाजिक परामर्श सेवा दिँदै आएको नेपालगञ्ज उपमहानगरपालिकाकी मनोसामाजिक परामर्शकर्ता पूजा भण्डारीले  बताउनुभयो  । सामीले ६४ जनालाई मनोसामाजिक परामर्श सेवा दिएको जनाएको छ । नेपालगञ्जमा १५, कोहलपुरमा १९, खजुरामा २५ र बैजनाथमा ५ जनालाई मनोसामाजिक परामर्श सेवा दिइएको छ ।

वित्तीय साक्षरता कक्षामार्फत वैदेशिक रोजगारीबाट आएको पैसालाई कसरी सदुपयोग गर्ने भन्ने बारेमा पनि परामर्श गर्दै आएको कोहलपुर नगरपालिकाकी वित्तीय साक्षरता सहजकर्ता अनिता जिसी रावतले  बताउनुभयो  । बाँकेमा १०३ जनालाई वित्तीय साक्षरतामार्फत व्यवहार परिवर्तन गराइएको तथ्याङ्क सामीसँग छ । कार्यक्रममा नेपालगञ्जकी डिप्रेसनपीडित एक महिलाले मनोसामाजिक परामर्श पाएपछि आफ्नो जीवनमा आएको बदलाव र कोहलपुरकी विष्णु गोराथोकीले वित्तीय साक्षरता कक्षा लिएपछि श्रीमानले विदेशबाट कमाएर पठाएको पैसाको सही सदुपयोग र बचत गर्ने आनीबानीमा आएको परिवर्तनबारे आफ्ना अनुभव सुनाउनुभएको थियो । कार्यक्रममा डेढ दर्जन पत्रकार उपस्थित थिए ।

सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button