तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषध नियन्त्रणका लागि भोजपुरमा सचेतना कार्यक्रम

भोजपुर ।   भोजपुरमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा प्रभातफेरी तथा सचेतनात्मक कार्यक्रम गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयको आयोजनामा गरिएको कार्यक्रममा दुर्व्यसनी तुल्याउने वस्तु तथा पदार्थहरू लागुऔषध भएकाले कानुनले निषेधित गरेको यस्ता बस्तुको प्रयोग गर्न नहुनेमा जोड दिइएको थियो । 

युवाहरू साथीभाइको लहैलहैमा लागेर कुलतमा फस्ने गरेका कारण परिवारमा पनि कलह बढेको उल्लेख गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद  घिमिरेले किशोरावस्थामा घरपरिवारको संरक्षण र निगरानी हुन नसकेका कारण युवाहरू दुर्व्यसनीको शिकार भइरहेकाले यसतर्फ समाज, छरछिमेक र परिवारजनले विशेष चासो राख्नुपर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी शरत कुमार थापा क्षेत्रीले दुर्व्यसनको अवस्था, तथ्याङ्क, कानुनी व्यवस्था लगायतका विषयमा कार्यक्रममा जानकारी गराउनुभयो  । 

कार्यक्रममा उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तान, यशोधरा माविका प्रधानाध्यापक ध्रुवराज रेग्मी लगायतले शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थ लागु पदार्थ भएकाले यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायु प्रणालीमा समेत प्रभाव पार्ने भएकाले सचेत रहन सबैलाई आग्रह गर्नुभयो । 

विद्यार्थी, सुरक्षाकर्मी, कर्मचारी, स्थानीय, गैर सरकारी संघ संस्थाका प्रतिनिधि, स्थानीयसहितको सहभागितामा विभिन्न नारा सहितको प्लेकार्ड र जिइगल सहितको प्रभातफेरी समेत गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button