प्रतिनिधिसभामा सम्बन्धित मन्त्रालयले जवाफ दिने क्रम आज पनि जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम जारी छ ।
बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिइरहनुभएको छ ।
विनियोजन विधेयक, २०८० अन्तर्गतका रक्षा मन्त्रालयसँग सम्बन्धि प्रश्नहरूको जवाफ दिँदै उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा सबैको समान धारणा र बुझाई हुनुपर्ने बताउनुभयो ।
प्रतिरक्षा विश्वविद्यालयबारे सांसदहरुले उठाउनुभएको जिज्ञासामा उपप्रधान एवम् रक्षामन्त्री रक्षामन्त्री खड्काले राष्ट्रिय सुरक्षासँग सम्बन्ध राख्ने राष्ट्रिय सुरक्षा, राष्ट्रिय सुरक्षा नीति तथा रणनीति, राष्ट्रको बाह्य तथा आन्तरिक सुरक्षा चुनौतीहरू, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिवेशहरूको नियमित अध्ययन, अध्यापन एवम् अनुसन्धान गर्न शैक्षिक संस्था स्थापना गर्न आवश्यक भएकाले प्रतिरक्षा विश्वविद्यालयको नीतिगत व्यवस्थाका लागि कार्यक्रम अघि बढाएको जानकारी गराउनुभयो ।
रक्षामन्त्री खड्काले द्रुतमार्गको बाँकी प्याकेजहरूको चाँडै टेण्डर प्रक्रिया अघि बढाउँदै आयोजना आगामी २०८३ चैतभित्र सम्पन्न गर्ने गरी व्यवस्था मिलाइएको बताउनुभयो ।

रक्षा मन्त्री खड्काले नेपाली सेनाको सङ्ख्या घटाउने या बढाउने बारेमा सरकारले कुनै दृष्टिकोण बनाई नसकेको र सेनाले जिम्मा लिएको विकास निर्माण तोकेकै समयमा सम्पन्न गर्ने संसद्लाई जानकारी गराउनुभयो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी र दृढ रहेको बताउनुभयो ।
मन्त्री मोदीले कर्मचारीको सरुवालाई व्यवस्थित बनाउँदै निमित्तको भरमा चलेको स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाइएको बताउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रालयगत बजेट ५३ प्रतिशत घटेको बताउँदै मन्त्री मोदीले सबैलाई समान रुपमा र मागका आधारमा रकम विनियोजन गर्न नसकेको जानकारी दिनुभयो ।
यसअघि, शून्य समयमा सांसदहरुले पशुपति नाथ मन्दिरको सुनको जलहरीको सत्यतथ्य जनाकारी गराउन, बजेट संशोधन गरेर पास गर्न, अछामको बयलपाटा अस्पताल सञ्चालन सहज बनाउन, सुधारगृह व्यवस्थित गर्न, सार्वजनिक सम्पदाको संरक्षण, तिंकर नाका खोल्न पहल गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले प्राकृतिक प्रकोप पूर्वको सरकारको तयारी, सरकारी कर्मचारीले छात्रवृत्तिको दुरुपयोग गरेको, उपल्लो डोल्पाका गुम्बाहरूमा लुटपाट भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
आजको बैठकका विनियोजन विधेयक, २०८० अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम जारी छ ।







प्रतिक्रिया राख्नुहोस्