तपाईँ सुन्दै हुनुहुन्छः

आइसिपी भन्सार वीरगन्जद्वारा ११ महिनामा १ खर्ब ४२ अर्ब राजस्व असुली

वीरगञ्ज । देशकै प्रमुख भन्सार नाकाको रुपमा रहेको एकिकृत भन्सार जाँच चौकी आइसिपी वीरगन्जले चालु आर्थिक वर्ष २०७९/०८० को ११ महिनामा १ खर्ब ४२ अर्ब ३० करोड ४१ लाख ६२ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

अर्थ मन्त्रालय भन्सार विभागले आइसिपी भन्सारलाई ११ महिनाको अवधिमा २ खर्ब ३७ अर्ब ५८ करोड ६३ लाख ६२ हजार राजस्व उठाउने लक्ष्य तोकेको भए पनि आयात निर्यात व्यापार प्रभावित भएसँगै वीरगञ्ज भन्सारको राजस्व असुलीमा गिरावट आएको प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो ।

तुलनात्मक रुपमा हेर्दा लक्ष्य भन्दा ९५ अर्ब २२ करोड २२ लाख कम राजस्व असुली भएको र यसको प्रभाव मुलुकको अर्थतन्त्रमा पर्ने हुँदा अर्थविद्हरू चिन्तित भएका छन् ।

चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाकाबाट हुने मालवस्तुको आयात निर्यात घट्नुको साथै सवारी साधनको आयात तथा खरिद विक्री प्रभावित भएसँगै यसको असर राजस्व असुलीमा परेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक पन्थीले बताउनुभयो ।

यसैगरी वीरगञ्ज भन्सार कार्यालयले भन्सार राजस्वतर्फ ५० अर्ब ५० करोड ४९ लाख ९४ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ ६३ अर्ब ८९ करोड ३७ लाख ७७ हजार राजस्व असुली गरेको छ ।

त्यसैगरी अन्त शुल्कतर्फ ९ अर्ब २ करोड ९९ लाख ८२ हजार असुली गरेको प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुडालले बताउनुभयो । त्यसैगरी वीरगञ्ज भन्सार कार्यालयले पूर्वाधार करतर्फ १२ अर्ब ५५ करोड ३७ लाख ८ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्कतर्फ १ अर्ब ८४ करोड ८० हजार असुली गरेको छ ।

यसैगरी वीरगञ्ज भन्सार कार्यालयले सडक मर्मत तथा सुधार दस्तुरतर्फ ३ अर्ब २१ करोड ९९ लाख ६० हजार राजस्व असुली गरेको छ भने सडक निर्माण तथा सम्भार दस्तुरमा १ अर्ब २५ करोड ८२ लाख ३५ हजार राजस्व असुल गरेको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button