तिला र तातोपानी गाउँपालिकामा भकारी परियोजनाको ६ करोड लगानी

जुम्ला । जुम्लाको तिला र तातोपानी गाउँपालिकामा सञ्चालित भकारी परियोजनामार्फत सञ्चालित गतिविधिले कृषि, सामाजिक र भौतिक क्षेत्रको विकासले फड्को मारेको छ ।
तीन वर्ष परियोजनाले सामाजिक रूपान्तरणसँगै आय आर्जन वृद्धि, क्षमता विकास र कृषि उत्पादन र भौतिक विकासमा उल्लेखीय काम गरेको पाइएको छ ।
परियोजनामार्फत सिँचाई अभावले बाँझिदै गएका खेतीयोग्य जमिनमा सिँचाई सुविधा मात्र पुगेको छैन । विद्यमान सामाजिक कुरीति अन्त्य, विपद् व्यवस्थापन, लैङ्गिक समानता,समावेशीकरण, डेढ दर्जनभन्दा बढी सिँचाई कुला निर्माण लगायतका उल्लेखीय काम भएका छन् ।
जुम्लाको तिला र तातोपानी गाउँपालिकामा विगत तीन वर्षदेखि सञ्चालित भकारी परियोजना समापन भएको छ । समापनका अवसरमा परियोजनाले गरेको उल्लेखीय गतिविधिहरू सार्वजनिक गरिएको छ ।
यूएसएडको आर्थिक सहयोग मर्सिकोरको नेतृत्व तथा किर्डाक नेपालद्वारा सञ्चालित भकारी परियोजनाले तिला र तातोपानीमा तीन वर्षमा ६ करोड १५ लाखभन्दा बढी बजेट कृषि, सामाजिक तथा भौतिक विकासमा लगानी गरेको छ । भकारी परियोजना तिलाका १ देखि ९ वटा वडा र तातोपानीका ४,७ र ८ नम्बर वडामा लागु भएको थियो ।
आपतकालीन क्षेत्र, कृषि तथा पोषण, उत्पादनशील पानी, विपद् जोखिम न्युनिकरण, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र सामाजिक व्यवहार परिवर्तन सञ्चार गरी ६ वटा विषयगत क्षेत्रमा काम गरिएको किर्डाक नेपालका डिआरआर अधिकृत पविना खड्काले बताउनुभयो ।
उहाँका अनुसार उल्लेखित ६ वटा विषयगत क्षेत्रका कार्यक्रमबाट तिला गाउँपालिकाका २३ हजार ६ सय ५ जना र तातोपानी गाउँपालिकाका ११ हजार ५० जना गरी ३४ हजार ६ सय ५५ नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।
कृषिमा अनुदान, सिप तथा प्रविधि,विपद् व्यवस्थापनको सिप उद्यमशीलता लगायतका सिप पाएका प्राप्त गरेका छन् ।
यसैबीच अक्टोबर सन् २०२० देखि जुन २०३० सम्म सञ्चालनमा रहेको भकारी परियोजनाको समापन कार्यक्रम गरेर तीन वर्षमा भएका उल्लेखीय कामको प्रतिवेदन दुवै पालिकालाई बुझाइएको छ ।
तीन वर्षे परियोजनाको उपलब्धी र नागरिकमा उत्साह देख्दा दातृ संस्था यूनएनडपिकी भेरिकाले पनि खुसी व्यक्त गर्नु भएको थियो ।
परियोजनाले तीन वर्षमा कृषि, विपद् व्यवस्थापन, सामाजिक विकास, पोषण, पूर्वाधार विकास लगायतका क्षेत्रमा भएका राम्रा कामको निरन्तरता दिने, संरचनाको संरक्षण तथा उपभोग गर्ने दायित्व स्थानीय तहलाई सुम्पिएको किर्डाक नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारीले बताउनुभयो ।
उहाँले सरकारका विकास साझेदार गैरसरकारी संस्था र परियोजना निश्चित समय लक्ष्यका लागि हुने भएकाले परियोजनाबाट भएका राम्रा कामको अनुसरण र संरक्षणमा स्थानीय तह जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाइले परियोजनाबाट सञ्चालित विभिन्न कामहरूको उपलब्धि रक्षा गर्न पालिका गम्भीर रहेको बताउनुभयो । तातोपानीमा किर्डाक बाहेक अरू कोही पनि संस्था सञ्चालनमा छैनन् । उहाँले भन्नुभयो, “पालिकासँग स्रोत कम र आवश्यकता बढी हुँदा काम गर्न मुस्किल छ। तर किर्डाकद्वारा सञ्चालित भकारी परियोजनाले पालिकाको कृषि,सामाजिक तथा भौतिक विकासमा टेवा पुगेको छ ।”
त्यस्तै तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले विकास साझेदार संस्थाको सहयोग बिना राज्यले मात्रै नागरिकका आवश्यकता परिपूर्ति गर्न सक्ने अवस्था नरहेको बताउनुभयो ।
उहाँले भौगोलिक हिसाब विकट, चेतना स्तरले पछि परेको तिलाको विकासमा भकारीले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।
दुई पालिकामा ६ करोड लगानी
किर्डाक नेपालद्वारा सञ्चालित भकारी परियोजनाले तिला र तातोपानी गाउँपालिकाको कृषि, सामाजिक तथा भौतिक विकास विकासका लागि ६ करोडबढी बजेट खर्चिएको छ ।
तीन वर्षको अवधिमा आय आर्जन वृद्धि,सिँचाई सुविधा विस्तार, कुलो निर्माण, व्यवहार परिवर्तन, विपद् व्यवस्थापन, कृषि तथा पोषण सुधार लगायतका क्षेत्रमा झण्डै ६ करोड १५ लाख १० हजार ५४१ रुपैयाँ लगानी गरेको आर्थिक प्रगतिमा उल्लेख छ ।
जस अन्तर्गत तिला गाउँपालिकाको कृषि तथा पोषण, उत्पादनशील पानी, प्राकृतिक स्रोत व्यवस्थापन, लैगिक समानता तथा समावेशीकरण लगायतका क्षेत्रमा ३ करोड ७१ लाख ८ हजार ८२१ रुपैयाँ लगानी गरेको छ ।
तिला गाउँपालिकामा कुल ३ करोड ८८ लाख ४४ हजार बढी बजेट रहेकोमा तीन वर्षमा कुल बजेटको ९५ प्रतिशत खर्च भइसकेको छ ।
भने तातोपानी गाउँपालिका ४,७, र ८ नम्बर वडाको, कृषि, पोषण, सिँचाइ, विपद् जोखिम न्युनिकरण लगायत सामाजिक विकास (छुई प्रथा,बालविवाह,लैगिक विभेद न्युनिकरण, क्षमता विकास) लगायतका क्षेत्र २ करोड ४३ लाख ८६ हजार ७२० रुपैयाँ लगानी गरेको छ ।
तातोपानीमा कुल २ करोड ५१ लख ९६ हजार बढी बजेट रहेकोमा तीन वर्षमा ९६ प्रतिशत खर्च भएको हो ।
भकारी परियोजनाको दुई पालिकामा “आपतकालीन क्षेत्र, कृषि तथा पोषण, उत्पादनशील पानी ,विपद् जोखिम न्युनिकरण, लैगिक समानता तथा सामाजिक समावेशीकरण र सामाजिक व्यवहार परिवर्तन सञ्चार” गरी ६ वटा विषयगत क्षेत्रमा ६ करोड १५ लाखको लगानी गरेको छ ।
उक्त लगानी र उपलब्धिलाई सुरक्षित, दिगो र निरन्तरता दिन स्थानीय सरकारकै दायित्व भएकोले नीति बनाएरै उपलब्धिको संरक्षण गर्नुपर्ने बताएका छन् ।







प्रतिक्रिया राख्नुहोस्