तपाईँ सुन्दै हुनुहुन्छः

‘समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिबद्ध’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा थप सुधार ल्याई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल उद्योग परिसङ्घकोे २० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै उहाँले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र लगायतका विभिन्न औद्योगिक पूर्वाधार निर्माण गर्ने दिशामा केही सकारात्मक उपलब्धी हासिल भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सम्पन्न भएका पूर्वाधारको पूर्ण उपयोग गर्दै थप औद्योगिक पूर्वाधारको निर्माण गर्नेतर्फ सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । अर्थतन्त्र सुधारका लागि परिसङ्घले दिएको सुझावलाई सरकारको नीति तथा कार्यक्रम एवं बजेटमा राख्ने प्रयास गरिएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

उद्योग परिसङ्घले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा चितवनको शक्तिखोर औद्योगिक क्षेत्र वा मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालनका लागि सरकार समक्ष आशय पेश गरेको बताउँदै उहाँले पीपीपी मोडलमा औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिनुपर्ने विषयमा सरकार स्पष्ट रहेको र बजेट समेतमा उल्लेख गरिएको बताउनुभयो ।

आगामी वर्षको बजेटको कार्यान्वयनलाई विशेष बनाउने गरी सरकारले कार्ययोजना बनाउने तयारी गरिरहेको बताउँदै उहाँले सरकारले बजेट कार्यान्वयनको सिलसिलामा चाल्ने कदममा पनि परिसङ्घको पूर्ण सहयोग रहने विश्वास लिइएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले कृषि लगायत प्राथमिक क्षेत्रको विकास र विस्तारबाट उद्योग क्षेत्रको विकासलाई टेवा पुर्‍याइ कूल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान बढ्दै जानुपर्नेमा त्यसो हुन नसकेको भन्दै त्यसलाई ध्यानमा राखेर संरचनात्मक रूपान्तरणमा जोड दिने गरी सरकारले आफ्ना नीति तथा योजनाका कार्य अघि बढाएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button