विनियोजन विधेयक, २०८० : विभिन्न शीर्षकमाथिको छलफल जारी
अर्जुन श्रेष्ठ/विद्याप्रसाद उपाध्याय/टोमराज मेहता,
काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफल आज पनि जारी रह्यो ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह र रक्षा मन्त्रालय साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि समूहकृत छलफल भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरमा उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले राज्यका सम्पूर्ण संरचनालाई समावेशी बनाउन नीतिगत, कानुनी र प्रक्रियागत सुधारलाई निरन्तरता दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले मुलुकको समग्र विकासका निम्ति आवश्यकताका आधारमा बजेट विनियोजन भएको भन्नुहुँदै विकासमा पछि परेका कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखी स्रोत साधनको न्यायपूर्ण विनियोजन गरिएको जानकारी दिनुभयो ।
यस्तै प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति व्यवस्था विगतको भन्दा सुदृढ भएकाले यो वर्ष धान बालीका लागि मल अभाव नहुने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले ३ लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएकोमा ७१ हजार मेट्रिक टन मौज्दात रहेको र यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिक टन भित्रिने जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले रासायनिक मलका लागि स्रोत सुनिश्चित गरिएको जानकारी दिनुहुँदै मल आपूर्ति र वितरण प्रणालीलाई पारदर्शी बनाउन डिजिटल प्रणाली अबलम्बन गरिएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले सरकारले राष्ट्रिय गौरवका आयोजनामा बजेट सुनिश्चित गर्ने गरेको भन्नुहुँदै आगामी आर्थिक वर्षमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको साइट क्लिअरेन्स गर्ने काम सक्ने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनको मुआब्जा वितरण, सञ्चालन र व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको उलेख गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले नेपालमा पहिलो पटक फैलिएको लम्पी स्किन रोग लाग्न नदिन र लागेका पशुको उपचारको लागि संघ, प्रदेश, स्थानीय तहमा कार्यरत पशु सेवा प्राविधिकको परिचालन गरिएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले लम्पी स्किन रोगको रोकथाम र नियन्त्रणका लागि सङ्घीय स्तरबाट चाँडै बजेटको व्यवस्था गरी स्थानीय तहमा पठाइने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले मुलुकको स्वाधीनता, भौगोलिक अखण्डता, सीमा सुरक्षाका सम्बन्धमा सरकार संवेदनशील रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल, सुदृढ र प्रभावकारी बनाउन, सीमा स्तम्भको नियमित मर्मत सम्भार गर्दै जाने, बोर्डर आउट पोस्टको सुदृढीकरण थप स्थानमा आउट पोष्ट निमार्ण कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो ।
बैठकमा सांसद्हरु अच्युतप्रसाद मैनाली, अजय कुमार चौरासीया, अन्जनी श्रेष्ठ, अनिशा नेपाली, अब्दुल खान, अम्बिका बस्नेत, अम्मरबहादुर थापा, अम्मरबहादुर रायमाझी, डा. अमरेशकुमार सिंह, अमृतलाल राजवंशी, अमृतादेवी अग्रहरी, अर्जुन नरसिंह केसी, अशोककुमार चौधरी लगायतले प्रधानमन्त्री समक्ष प्रश्न राख्नुभएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक आगामी १० गते आइतबार बिहान १० बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्