तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा चिकित्सक र स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धि तालिम

नेपालगञ्ज । नेपालगञ्जमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धि तालिम सुरु भएको छ । गर्मीयामको सुरुवातसँगै सर्पदंशका बिरामी बढ्ने गर्छन् । स्वास्थ्य संस्था तथा अस्पतालमा पुगेका सर्पदंशका बिरामीहरूलाई कसरी उपचार व्यवस्थापन गर्ने भन्ने विषयमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सचेत पार्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । 

स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको आयोजनामा भेरी अस्पतालमा आयोजित तीन दिने तालिमको सहजीकरण गर्दै भेरी अस्पतालका कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा। कृष्ण आचार्यले सर्पदंशका अधिकांश बिरामीको स्वास्थ्यकर्मी तथा चिकित्सकहरूले व्यवस्थापन गर्न नसक्दा दुर्घटना हुने गरेको भन्दै त्यस खालका दुर्घटना नहोस् भन्ने उद्देश्यले सर्पदंश व्यवस्थापन सम्बन्धि तालिम दिइएको बताउनुभयो ।

जङ्गल क्षेत्रसँग जोडिएका बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर लगायत तराईका २२ जिल्ला र सुर्खेत, डडेलधुरा, पाल्पा र सिन्धुली लगायतका पहाडी जिल्ला सर्पको जोखिममा पर्छन् । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी भेरी अस्पताल तथा लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही, बर्दिया अस्पताल र लमही सर्प दंश उपचार केन्द्रमा सर्पदंशका बिरामी बढी आउने गरेका छन् ।

नवलपरासी, रुपन्देही, कपिलबस्तु, बाँके, बर्दिया, दाङ र बर्दियाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अधिकृत, स्वास्थ्यकर्मी सहभागी तालिममा सर्पको पहिचानदेखि उपचार व्यवस्थापनसम्म जानकारी प्रवाह गरिने स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत अरुण ज्ञवालीले जानकारी दिनुभयो ।

तालिमको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट समेत रहनुभएका एनेस्थेसियोलोजिष्ट डा। आचार्य, सर्पदंश विशेषज्ञ कमल देवकोटा, भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा। खगेन्द्रजंग शाह लगायतले सहजीकरण गरिरहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button