सवारी दुर्घटना छानबिनका लागि उच्च स्तरीय समिति गठन
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जनाको निधन भएको सवारी दुर्घटना छानबिनका लागि उच्च स्तरीय समिति गठन गरेको छ ।

मन्त्री सिंह सवार सु.प.प्र.००१ झ ४८० नं.को गाडी असार ५ गते बझाङको केदारस्यूँ गाउँपालिका १ जुवालीखेत देउरामा दुर्घटना भएको थियो । दुर्घटनामा परि मन्त्री सिंह, उहाँकी धर्मपत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको निधन भएको थियो ।
प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सवारी दुर्घटनाको अनुसन्धान गरि सत्यतथ्य पत्ता लगाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव गङ्गाबहादुर खरेलको अध्यक्षतामा ७ सदस्यीय छानविन समिति गठन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
छानविन समितिमा प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नवराज ओझा, उपन्यायाधिवक्ता टेक बहादुर थापा, यातायात व्यवस्था कार्यालय धनगढीका मेकानिकल इन्जिनियर सदस्य तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत विष्णुदत्त अवस्थी सदस्य(सचिव रहनु भएको छ ।
छानविन समितिलाई सत्यतथ्य पत्ता लगाएर १५ दिनभित्र प्रदेश सरकार समक्ष प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।







प्रतिक्रिया राख्नुहोस्