महेसपुर भन्सारमा आजबाट सय रुपैयाँको सामानको पनि भन्सार
नवलपरासी । पश्चिम् नवलपरासीमा रहेको महेसपुर भन्सार कार्यालयले आजदेखि भारतीय बजारबाट भित्रने सय रुपियाँको सामानमासमेत भन्सार उठाउन सुरु गरेको छ ।
याे सँगै अब भारतीय बजारबाट नेपाल भित्रिने हरेक सामानमा भन्सार कडाइ गरिन लागिएकाे हाे । भन्सार कार्यालयले सूचना निकालेरै नेपाली सय रुपैयाभन्दा बढिका सामानमा पनि भन्सार उठाउन लागिएको जनाएको हाे।
बिनाभन्सार सामान भित्र्याउँदा स्वदेशी बजार र राजस्वसमेत सुक्दै गएपछि र लक्ष्यको न्यून प्रतिशत मात्रै राजस्व उठेपछि यो अभियान चालिएको भन्सार कार्यालयका प्रमुख बुद्धि बहादुर चुडालले बताउनु भयो
। सीमावर्ती बजारमा हुने अवैध कारोबारलाई निरुसाहित गर्न भारतीय सीमा ठुठिबारी नाकामा नेपाली सय रुपैयाभन्दा बढि मूल्यका सामानमा अनिवार्य भन्सार शुल्क लिन थालिएको भन्सार कार्यालयले जनाएको छ ।
घरायसी प्रयोजनका लागि खाधान्न लत्ता कपडा लगायतका सामान किन्न भन्दै दैनिक हजारौँ नेपाली सीमावर्ती बजार ठुठिबारी पुग्ने गरेका छन् । भारतीय बजारबाट खुलेयाम सामान नेपाल भित्रिँदा सरकारलाई राजस्वमा कमी र नेपाली व्यवसायीको कारोबारमा समेत प्रभाव परेपछि सीमा नाकामा कडाइ सुरु गरिएको हो ।
उद्योग वाणिज्य संघका केन्द्रिय सल्लाहकार गुणनिधी तिवारीले सिमावर्ती बजारमा सामानको गुणस्तर भन्दा पनि सस्तोमा सामान पाईने छाप नेपाली ग्राहकमा परेको छ यसरी सस्तोको बहानामा सबै दैनिक उपभोग्य सामान सिमावर्ती बजार बाटै आउँदा नेपाली ब्य्वसाय सुक्दै गएको बताउनु भयो ।
यता उपभोक्ताहरूले भने सामान्य उपभोक्ता लाई १०० रुपैयाँको सामानमा पनि भन्सार लगाइरहँदा सबै व्यवसायीलाई दायरामा ल्याउन सक्नु पर्ने बताउँछन् । ३३ कराेड लक्ष्य लिएको भन्सार कार्यालयले यस आ.ब.मा हालसम्म जम्मा करिब १० करोडको हाराहारीमा मात्र राजस्व सङ्कलन गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्