तपाईँ सुन्दै हुनुहुन्छः

बाल उद्यानमा रमाउन थाले बालबालिका

म्याग्दी  । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित सार्वजनिक जग्गामा निर्माण भएको बाल उद्यानमा बालबालिका रमाउन थालेका छन् । 

बाल उद्यान निर्माणले बजारमा कोठामा सीमित रहेका बालबालिकालाई मानसिक, शारीरिक र बौद्धिक विकासका लागि सकारात्मक मनोरञ्जनका लागि सहयोग पुगेको छ । 

गाउँबाट बजारमा पढाउनका लागि झरेका बालबालिकालाई अभिभावकले बेलुकाको समयमा उद्यान बगैँचामा लाने गरेका छन् । 

दिनमा स्कुल भए पनि बालबालिकाले बाँकी समय घरमै बिताउनुपर्ने बाध्यता छ भने उनीहरुलाई मोबाइल र टिभीबाहेक कुनै वास्ता नै छैन । उद्यानमा बच्चा घुमाउँदा बालबालिका खुशी हुने अनुभव अभिभावकले सुनाउने गर्छन् । उद्यान बगैँचाले बालबालिका रमाउन पाउँदा अभिभावकलाई सहयोग पुगेको छ । 

सदरमुकाम बेनीमा सार्वजनिक ठाउँमा बालबालिका रमाउने उद्यान बगैँचा नहुँदा अभिभावकले कोठामै सीमित राख्नुपर्ने बाध्यतालाई मध्यनजर गरेर वडानम्वर ८ कालीगण्डकी नदी किनारस्थित कालिपुलमा अतिक्रमित जग्गालाई व्यवस्थापन गरेर अघिल्लो आर्थिक बर्ष र चालू आर्थिक वर्षमा विनियोजित कुल आठ लाख रुपैयाँ बजेटबाट बालबालिका रमाउने उद्यान गरिएको वडाअध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । 

उहाँले अघिल्लो बर्ष साढे तीन लाख र चालू आर्थिक वर्षमा साढे चार लाख रुपैयाँ बजेटमार्फत  कम्पाउण्ड घेराबार, गेट, नाली, बालबालिका रमाउने पूर्वाधार निर्माण गरिएको भन्नुभयो । “यसभन्दा पहिले सहरमा बालमैत्री र बालबालिका लक्षित पार्क तथा बाल उद्यान थिएन् । बजारमा बालबालिका पढाउन धेरै अभिभावक साँगुरो र बालबालिका रमाउन नमिल्ने घरमा बस्न बाध्य छन् ।” उहाँले भन्नुभयो । “अभिभावकको गुनासोलाई सम्बोधन गर्दै बाल उद्यान निर्माण निर्माण सम्पन्न भएको छ । यसको व्यवस्थापनको जिम्मा कालीपुल युनाईटेड क्लब लिएको छ । बेलुका साढे ४ बजेदेखि सात बजेसम्म बालबालिकालाई रमाउनका लागि खुल्ला हुन्छ । यसले बालबालिका रमाउन र खेल्न पाउने अधिकारलाई सहयोग पुर्‍याएको छ ।

स्कुलबाट घर र घरबाट स्कुल जाने बालबालिकालाई केही समय बाहिरी वातावरणसँग घुलमिल गराउनका लागि सहयोग पुगेको वडाअध्यक्ष कर्माचार्यले थप्नुभयो । “आगामी दिन बालबालिका रमाउने थप पूर्वाधार योजना बेनी नगरपालिकाले थप्ने योजना छ।” 

बेनी बजारको पुरानो बस्ती कालीपुलमा बालबालिका रमाउने उद्यान बगैँचासँगै नजिकै दृश्यावलोकन स्थल बनाइएको छ । दृश्यावलोकन स्थलमा कालीगण्डकी नदी, कालीपुल र बेनी बजारको दृश्यावलोकन पाइन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button