तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा : मन्त्रालयगत विनियोजन शीर्षक माथिको छलफल जारी

अर्जुन श्रेष्ठ/विद्याप्रसाद उपाध्याय/केशव ढुङ्गाना, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत आधारमा छलफल भएको छ ।

बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल भएको हो ।

छलफलमा सांसदहरु दामोदर भण्डारी, बलराम अधिकारी, वसन्त कुमार नेम्वाङ र प्रेम सुवालले खर्च कटौतीको प्रस्ताव राख्नुभएको थियो ।

त्यसअघि, शुन्य समयमा सांसदहरुले शिक्षक र स्वास्थ्य कर्मीमाथि हुने दुर्व्यवहारको अन्त्य गर्नुपर्ने, नागरिकता विहीन नागरिकलाई नागरिकता दिनुपर्ने, महिलामाथि हुने हिंसाको अन्त्य गर्नुपर्ने, राष्ट्रिय परिचयपत्र बनाउँदा आफ्नो संस्कृति, रीतिरिवाज अनुसार लगाइएका शृङ्गार र पोशाक लगाउन नपाइने नियम हटाउन माग गर्नुभयो ।

सांसदहरुले वर्षायाममा हुनसक्ने जोखिम न्यूनीकरण गर्न तत्काल जोखिमयुक्त क्षेत्रमा तटबन्ध लगाउनुपर्ने, धर्नामा रहेका विद्यालयका कर्मचारीको माग सम्बोधन गर्नुपर्ने, विभिन्न आयोजनामा भएका अनियमितताको छानबिन हुनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभाको अर्के बैठक असार ०३ गते आइतबार बिहान ११ बजे बस्ने छ ।

प्रतिनिधि सभाको आगामी बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button