तपाईँ सुन्दै हुनुहुन्छः

ढलान बाटो र सिँढीको निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा अवस्थित श्वेत वराह मन्दिर क्षेत्रमा पुग्नका लागि ढलान बाटो र सिँढीको निर्माण सम्पन्न भएको छ ।

वाग्मती प्रदेश सरकारको २ करोड १० लाखको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हो ।

ढलान बाटो र सिँढीको आज उद्घाटन गर्नुहुँदै वाग्मती प्रदेश सरकारका पूर्व मन्त्री रामेश्वर फुयाँलले अन्तर्राष्ट्रिय पशुपति परिपथ र बौद्ध परिपथ निर्माणका लागि स्थानीय मठ मन्दिरलाई एकत्रित गरी धार्मिक सर्किट बनाउन प्रदेश सरकारले प्रयास गरेको बताउनुभयो ।

नेता फुयाँलले समाजमा असल काम स्थापित गर्न स्रोत, साधन र सम्पदाको बहुमुखी प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले नगरपालिका भित्र रहेका धार्मिक ऐतिहासिक स्थलहरूलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिने बताउनुभयो ।

उहाँले उत्तर गयाका रुपमा परिचित गोकर्णेश्वर मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न प्रयास भइरहेको जानकारी दिनुभयो ।

वडा नम्बर १ का अध्यक्ष द्वारिका श्रेष्ठ, धार्मिक समितिका सदस्य दामोदर खनाल, बालकृष्ण श्रेष्ठ लगायतका स्थानीयवासीले स्थानीय ऐतिहासिक, स्रोत साधनको उपयोगमा ध्यान दिन र काठमाडौँ उपत्यकालाई सहजसँग हर्न सकिने प्राकृतिक रमणीय स्थल श्वेत वराह मन्दिरलाई धामको रुपमा विकास गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

नेपाल माहात्म्य वर्णन भए अनुसार ४ वराह मध्येको श्वेत वराह मन्दिर एक महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलका रुपमा रहेको छ ।

यसैगरी मन्दिर परिसरमा आजै पञ्चमुखी हनुमानको मूर्ति अनावरण गरिएको छ । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, विकास निर्माणका साथै नगरपालिकामा रहेका धार्मिक एवं ऐतिहासिक महत्वका स्थानहरूको विकासका लागि विशेष व्यवस्था गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button