चिनियाँ कम्युनिष्ट पार्टी तिब्बतका महासचिव वाङद्वारा अध्यक्ष तिमिल्सिनासँग शिष्टाचार भेट
कोरल्ला नाकाको स्तरोउन्नती र नेपाली उत्पादनलाई तिब्बतमा सहज पहुँचका लागि तिब्बत सकारात्मक

काठमाडौँ । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री गणेशप्रसाद तिमिल्सिनासँग चिनियाँ कम्युनिष्ट पार्टी तिब्बतका पार्टी महासचिव वाङ चेङजुङले शिष्टाचार भेट गर्नुभएको छ ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष तिमिल्सिनासँग चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा शुक्रबार बिहान शिष्टाचार भेट गर्नुभएको हो ।
भेटमा अध्यक्ष तिमिल्सिनाले ७औँ शताब्दीमा नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा सोङसेन ग्याम्पोसँगको विवाहदेखि नै नेपाल र तिब्बतबिच नाता जोडिएको चर्चा गर्दै भूगोल, संस्कृति र परम्पराहरूले बलियो रुपमा तिब्बत र नेपाललाई जोडेको बताउनुभयो ।
उहाँले नेपाल र तिब्बतबिच ऐतिहासिक समयदेखि चलिआएका व्यापार र लगानी नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका आधारभूत खम्बा भएको बताउनुभयो । कोभिड महामारीका समयमा नेपाल र चीनबीचको व्यापार र लगानीका गतिविधिहरू प्रभावित भएको तथा अहिले तीनवटा नाकाहरू खुला भएकाले यसले व्यापार र लगानीमा प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले मुस्ताङ र तिब्बतको ढोङवासेन जिल्लाको सिमानामा पर्ने कोरल्ला नाकालाई छिटो सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको उत्तरमा तिब्बत र दक्षिणमा भारत जोड्ने कालीगण्डकी करिडोर निर्माण अन्तिम चरणमा छ पुगेको कारण नाका सञ्चालन गर्दा कालीगण्डकी करिडोर हुँदै मानसरोवर यात्रा समेत छोटो र सहज हुने भएकाले भन्सार नाका जति सक्दो छिटो सञ्चालनमा ल्याउन आवश्यक भएको बताउनुभयो ।
कोराला नाकामा तिब्बततर्फ भन्सार पूर्वाधारको निर्माण कार्य तीव्र रुपमा अगाडी बढिरहेको छ तर नेपालतर्फ भन्सार पूर्वाधारको निर्माण कार्य शुरु गर्न नसकिएको अवस्थामा नेपाल तर्फ भन्सार पूर्वाधार बनाउन तिब्बत सरकारको सहयोगको अपेक्षा गरेको पनि बताउनुभयो ।
नेपालको मुस्ताङ जिल्ला र तिब्बतको ढोङवासेन जिल्लाको सिमानामा हरेक वर्ष जुन र सेप्टेम्बर महिनामा लाग्दै आएको नेचुङ (लिक्ची) मेला रोकिएको हुँदा मेला सुचारु गर्न पनि आग्रह गर्नुभयो । कोभिड महामारीको समयमा रोकिएको मेला शुरु नहुँदा च्याङ्ग्रा, पस्मिना, नुन, लत्ताकपडा, खाद्यान्न लगायतका बस्तुको आयात निर्यात ठप्प भएको र यसले नेपालको उपल्लो मुस्ताङका बासिन्दा प्रभावित भएको जानकारी गराउनुभएको थियो ।
नेपालबाट तिब्बततर्फ निकासी हुने जनवारको आहारमा प्रयोग हुने तयारी घाँस तथा फलफूल, तरकारी र जडीबुटी जस्ता कृषिजन्य उत्पादनको निकासीमा तिब्बत सरकारले भन्सार प्रक्रिया सहजीकरण गर्दा दुई देशबीचको व्यापार असन्तुलन घट्ने विश्वास पनि ब्यक्त गर्नुभयो । काठमाडौँ देखि ल्हासा, पोखरा र भैरहवा सीधा उडान सुचारु गर्दै कैलाश मानसरोवर यात्रा अनुमतिको प्रक्रियामा सहजीकरण भएमा दुवै देशमा पर्यटकीय गतिविधहरु बढ्ने भन्दै तिब्बत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
भेटमा चिनियाँ कम्युनिष्ट पार्टी तिब्बतका पार्टी महासचिव वाङ चेङजुङले कोरल्ला नाकामा भन्सार पूर्वाधार निर्माण गर्न, नेपाली कृषिजन्य उत्पादनलाई भन्सार प्रक्रिया सरलीकरण गर्न तथा तिब्बतको ल्हासाबाट काठमाडौँ, पोखरा तथा भैरहवा सिधा उडानका लागि सकारात्मक रहेको जानकारी दिनुभयो । उहाँले तिब्बतले यी सबै विषयलाई कार्यान्वयन गर्दै लैजाने आश्वासन पनि दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्