‘किसानलाई उत्पादनको आधारमा अनुदान दिने तयारी छ’
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताउनुभएको छ ।

बिहीबार अर्थ मन्त्रालयमा आयातित आलु, प्याज लगायतका तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल व्यवसायी कृषक संघ, म नेपाली किसान लगायत संस्थाका प्रतिनिधिहरुको सामूहिक भेटका उहाँले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्न उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो –‘ज्येष्ठ १५ गते संसदमा प्रस्तुत आर्थिक विधेयकमा आलु, प्याजमा लगाइएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई नै प्रोत्साहन र संरक्षण गर्ने हो । ‘यो करको व्यवस्थाले मूलतः आयातित वस्तुलाई नै महँगो बनाउँछ । स्थानीय उत्पादनलाई महँगो बनाउँदैन ।’ पहिला कागज देखाएर मात्रै दिइने गरेकोमा अब उत्पादनमा नै अनुदान दिइने अर्थमन्त्री महतले उल्लेख गर्नुभयो ।
उहाँले अहिले करको दर लागू नहुँदै सुनियोजित रुपमा केही सङ्गठित व्यक्तिहरूले मूल्यवृद्धि गराएको बताउनुभयो ।

भेटमा प्रतिनिधिहरूले आन्तरिक उत्पादनको संरक्षणका लागि अर्थ मन्त्रीले चालेको कदम स्वागतयोग्य भएको भन्दै यस क्षेत्रमा देखिएका अन्य समस्याहरूको पनि समाधान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्