नेपालगञ्ज र कोहलपुरका विद्यालय अब बिहान सञ्चालन हुने
नेपालगन्ज । अत्यधिक गर्मी र लु का कारण डेढ सातादेखि बन्द रहेका नेपालगन्ज र कोहलपुरका विद्यालय अब बिहान सञ्चालन हुने भएका छन् । नेपालगन्ज र कोहलपुरले डेढ साता निरन्तर बिदा गर्दा पनि अत्यधिक गर्मी र तातो हावा ‘लु’ चल्ने क्रम नघटेपछि अब विद्यालय बिहान मात्र सञ्चालन गर्न पाइने निर्णय गरेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा महाशाखाका अधिकृत लोकेन्द्र शाहीले जेठ ३१ गतेसम्म बिदा रहेका विद्यालयलाई ३२ गतेदेखि बिहान सञ्चालन गर्न आग्रह गरिएको बताउनुभयो ।
नेपालगञ्जमा सुरुमा तीन दिन बिदा दिइएकोमा त्यसलाई लम्ब्याइएको थियो । उपमहानगरपालिकाले बिहान ६ः१५ बजेदेखि ११ बजेसम्म विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ ।
यस्तै कोहलपुर नगरपालिकाले २२ गतेदेखि ३० गतेसम्म विद्यालय बिदा दिएको थियो । कोहलपुरको शिक्षा शाखाले ३१ गतेदेखि बिहान ६ देखि ११ बजेसम्म विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्