नीति तथा कार्यक्रम अनुसार शिक्षामा बजेट आएन : मन्त्री राई

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले नीति तथा कार्यक्रमअनुसार शिक्षामा बजेट विनियोजन हुन नसकेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री राईले शिक्षा मन्त्रालयले प्रस्ताव गरेको कार्यक्रम समेटिनु र बजेट नछुट्याइनुले सरकारको नीति तथा कार्यक्रम र बजेटमा तालमेल नभएको स्पष्ट पार्नुभयो ।

नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको उचित व्यवस्थापनका सन्दर्भमा स्पष्ट पारिनु तर बजेटले सम्बोधन नगरिनु दुःखद भएको बताउनुहुँदै मन्त्री राईले विद्यालय कर्मचारी आन्दोलनबारे जानकारी लिएर निर्णय गरिने बैठकमा जानकारी गराउनुभयो ।
त्रिभुवन विश्वविद्यालयभित्र हुने हिंसात्मक गतिविधिले सुरक्षित वातावरणमा पढ्न पाउने अधिकारबाट विद्यार्थीहरू वञ्चित हुनुपरेको उल्लेख गर्नुहुँदै उहाँले विश्वविद्यालयहरूले आर्थिक विकास र रोजगारीका सम्बन्धमा ध्यान दिएर विश्वास गर्न लायकको शैक्षिक संस्थाका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा शिक्षा मन्त्री राईले सरकारले माध्यमिक शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउने प्रक्रिया अघि बढाएको पनि जानकारी दिनुभयो ।

बैठकमा समितिका सांसदहरुले विद्यालय कर्मचारी आन्दोलनको समाधान खोजिनुपर्ने, विश्वविद्यालयहरूमा सुरक्षित पढ्न पाउने वातावरणको सिर्जना गरिनुपर्ने, संघीय शिक्षा ऐन, माध्यमिक शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन तत्काल ल्याइनुपर्ने लगायतका विषयमा प्रश्न उठाउनुभएको ।







प्रतिक्रिया राख्नुहोस्