तपाईँ सुन्दै हुनुहुन्छः

सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : मन्त्री शर्मा

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा सरकार कडाइका साथ लागेको भन्दै यसमा सहयोग गर्न मोबाइल व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ ।

मन्त्री शर्माले कर छली हुन नदिन ल्याइएको प्रणाली कार्यान्वयनमा सहयोग गर्ने व्यवसायीका हितमा सरकार सहयोग गर्न सधैँ तत्पर रहेको बताउनुभयो । नेपाल मोबाइल व्यवसायी महासङ्घको दोस्रो साधारण सभामा उहाँले भन्नुभयो, “मोबाइल मनोरञ्जनको साधन मात्र नभई अत्यावश्यकीय साधन बनिसकेको छ, २०६३ पछि बनेको सरकारका सञ्चारमन्त्री कृष्णबहादुर महरा हुँदा ल्याइएको ‘हातहातमा मोबाइल, घरघरमा इन्टरनेट’ अभियानलाई मूर्त रूप दिँदै वर्तमान सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख भइसकेको छ ।”

मन्त्री शर्माले मोबाइल आयातलाई भन्दा बिग्रेका मोबाइललाई पुनः प्रयोग गर्न सक्ने खालको उद्योग मुलुकभित्रै सञ्चालन गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले त्यस्ता उद्योग सुरु भए रोजगारी बढ्ने र स्वदेशी मुद्रा बाहिरिन न्यूनीकरण हुने भएकाले ती व्यवसायीलाई राज्यले उचित नीतिगत सहयोग गर्न कूल बजेटको एक प्रतिशत रकम लगानी गर्ने सरकारको नीति रहेको बताउनुभयो ।

नेपाल मोबाइल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष भरत भट्टराईले बर्सेनि रु ४० अर्बभन्दा बढी राजस्व उठाउने र ५० हजारभन्दा बढी रोजगार प्रदान गरिरहेका मोबाइल व्यवसायी यतिबेला सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउनुभयो ।

अध्यक्ष भट्टराईले राज्यलाई कर तिरेको अनुपातका आधारमा पेशागत तथा सामाजिक सुरक्षाको ग्यारेन्टी गरिदिन सरकारसँग माग गर्नुभयो । उहाँले स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्न सरकारलाई सहजीकरण गर्ने बताउनुभयो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले विभाग र महासङ्घको सहकार्यमा व्यवसायीलाई करसम्बन्धी विषयमा सचेतना जगाउँदै अनावश्यक झन्झटबाट मुक्ति दिने प्रतिबद्धता जनाउनुभयो ।

ललितपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्यले समाज रूपान्तरणमा मोबाइलले महत्त्वपूर्ण भूमिका निर्वाह गरे पनि त्यही व्यवसायबाट बाँच्ने व्यवसायीहरू समस्याग्रस्त रहेको सुन्दा दुःख लागेको बताउनुभयो ।

मोबाइल व्यवसायी महासङ्घका महासचिव रमेशकुमार घिमिरे र कोषाध्यक्ष सन्तोष घिमिरेले महासङ्घको गत आर्थिक वर्षको साङ्गठनिक तथा आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button