तपाईँ सुन्दै हुनुहुन्छः

‘सरकारले देश र जनताको हितमा काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिए’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताउनुभएको छ ।

नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको र विरोधका लागि विरोध गरेको बताउनुभयो ।

विकासमा राजनीतिक पूर्वाग्रह राख्नु नहुने भन्नुहुँदै प्रधानमन्त्री प्रचण्डले विकासका लागि राजनीतिक सहमति र राष्ट्रिय सङ्कल्प आवश्यक रहेको बताउनुभयो । उहाँले सरकार भ्रष्टाचारका विरुद्ध कठोर रूपमा प्रस्तुत भएको र भ्रष्टाचार विरोधी अभियानले निरन्तरता पाउने बताउनुभयो ।

भारत भ्रमणमा स्वाधीनता, विकास र समृद्धिका पक्षमा महत्त्वपूर्ण सहमति भएको दाबी पनि  उहाँले गर्नुभयो ।

कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत, नुवाकोटका सङ्घीय सांसद हितबहादुर तामाङ लगायतले सम्बोधन गर्नुभएको थियो ।

आजै नुवाकोटमा प्रधानमन्त्री ‘प्रचण्ड’ले लाकुरी भञ्याङ भूमिगत बृहत् खानेपानी आयोजनाको उद्घाटन गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नुभएको उक्त खानेपानी आयोजना पञ्चकन्या गाउँपालिकाले एक करोड ५० लाख रुपियाँको लागतमा निर्माण गरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button