प्रथम उपाध्यक्ष गोल्डकपको उपाधि आयोजक टिम सोरू गाउँपालिकालाई

मुगु । मुगु जिल्ला पश्चिमी सोरू गाउँपालिकामा आयोजित प्रथम उपाध्यक्ष गोल्डकपको उपाधि आयोजक टिम सोरू गाउँपालिकाले हात पारेको छ ।
शुक्रवार सोरू गाउँपालिकाको पोक्रीको खेलमैदानमा आयोजित फाइनल खेलमा गमगढीस्थित एवान स्पोर्ट क्लब र सोरू गाउँपालिकाबीच भएको खेलमा निर्धारित समयमा दुवै पक्षबीच कुनै गोल नभएपछि आयोजक टिम सोरू गाउँपालिकाले पेनाल्टीमार्फत १ गोल हानेर जित हात पार्न सफल भएको हो ।

पहिलो पटक सोरू गाउँपालिकाले आयोजना गरेको प्रथम उपाध्यक्ष गोल्डकप प्रतियोगितामा द्वितीय स्थानमा गमगढीस्थित छायाँनाथरारा नगरपालिका श्रीनगरको एवान स्पोर्ट क्लब र तृतीय स्थानमा खतेड गाउँपालिकास्थित टाइगर स्पोर्ट क्लब रहेका छन् ।
खेल समापनपछि प्रथम उपाध्यक्ष गोल्डकपका विजेता टिमलाई जिल्ला समन्वय समिति मुगुका संयोजक मन्जन बहादुर कार्की, सोरू गाउँपालिकाका अध्यक्ष धरमबहादुर शाही, उपाध्यक्ष केशरजंग शाहीले पुरस्कार स्वरूप नगद, टर्फी ,कप तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
गोल्ड कपमा मुगु जिल्लाका विभिन्न १७ टिमले उक्त भाग लिएका थिए ।
पहिलो पटक आफ्नै गाउँ ठाउँमा फुटबल खेलको आयोजना भएकोमा स्थानीयहरूले खेललाई रुचिपूर्वक अवलोकन गरेका थिए ।
जिल्ला समन्वय समिति मुगुका संयोजक मन्जन बहादुर कार्कीले सोरूको समृद्धिका लागि गाउँपालिकाले महत्त्वपूर्ण उपाध्यक्ष गोल्डकपको आयोजना गरेको बताउनुभयो । उहाँले रचनात्मक कामले सोरूको विकासमा टेवा पुग्ने पनि संयोजक कार्कीले बताउनुभयो ।

सोरू गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले यस्ता खेलले युवाहरूबीच एक आपसमा मैत्रीपूर्ण भावना जागृत गराउनुका साथै खेलले अनुशासन सिकाउने र सोरू भेगलाई पर्यटनको माध्यमबाट अघि बढाई गाउँ ठाउँमा खेलको विकास गर्ने गाउँ पालिकाको नीति रहेकोले उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष केशरजङ्ग शाहीले सोरू गाउँपालिकामा खेलको माध्यमबाट पर्यटन प्रवर्द्धन गरि सोरूको समृद्धिमा टेवा पुर्याउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धन सघाउ पुर्याउन गोल्डकपको आयोजना गरिएको बताउनुभयो । अब हरेक बर्ष सोरू गाउँपालिकाले गोल्डकप निरन्तरता दिँदै जाने लक्ष्य भएको र अब आउँदो बर्ष खेल मैदान व्यवस्थित गरेरमात्र उपाध्यक्ष गोल्डकपलाई निरन्तरता दिने पनि उहाँले बताउनुभयो ।
गोल्डकपमा प्रथम हुनेलाई रू १ लाख ११ हजार १ सय ११ ,द्वितीय हुनेलाई र तृतीय हुनेलाई क्रमशः ६६ हजार ६ सय ६६ र ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
प्रथम उपाध्यक्ष गोल्डकप जेठ २० गतेदेखि सुरु भई २६ गते शुक्रवारसम्म जम्मा सात दिन सञ्चालन गरिएको सोरू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्