असारभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउने
काठमाडौँ । वाणिज्य बैङ्कहरू एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) प्रक्रियामा गएर २०८० असार मसान्तभित्र एकीकृत कारोबार शुरु गरेमा सुविधा पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले ‘बैङ्क तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७९’ मा संशोधन गर्दै मर्जर तथा प्राप्ति जाने वाणिज्य बैङ्कलाई एकीकृत कारोबार सञ्चालन गरेको मितिदेखि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने व्यवस्था ल्याएको हो ।
आगामी असार मसान्तसम्ममा एकीकृत कारोबार शुरु गरेमा तोकिएको क्षेत्रगत कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) र ब्याजदर अन्तर कायम गर्नका लागि पनि सुविधा पाइनेछ ।
राष्ट्र बैंकले तोकिदिएको प्रति संस्था निक्षेप सङ्कलन सीमामा एक वर्षसम्म पाँच प्रतिशत बिन्दुले थप गरिने पनि एकीकृत निर्देशनमा भनिएको छ । कर्मचारी तथा व्यवस्थापकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा पनि सुविधा दिइएको छ ।







प्रतिक्रिया राख्नुहोस्