तपाईँ सुन्दै हुनुहुन्छः

औद्योगिक ग्राम सञ्चालनका लागि डिपिआर बनाउँदै तातोपानी गाउँपालिका

जुम्ला ।तातोपानी गाउँपालिका वडा नं. ४ स्थित रातेखोलामा स्थापना हुने औद्योगिक ग्रामको डिपिआर तयार हुन गर्न थालिएको छ । औद्योगिक ग्राम सञ्चालनका लागि अनिवार्य चाहिने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न थालिएको हो ।

सङ्घीय सरकारको लगानीमा तातोपानी गाउँपालिका सहित मुलुकका ८ पालिकामा बन्ने औद्योगिक ग्राम स्थापनाको प्रक्रिया अघि बढेको छ । सरकारले औद्योगिक स्थापनाका लागि सम्बन्धित पालिकालाई ३ करोड दिने छ ।

जस अन्तर्गत पहिलो चरणमा १ करोड सङ्घीय सरकारले पालिकाको खातामा पठाइसकेको छ । बजेट कार्यान्वयनका लागि औधागिक ग्राम सञ्चालनको अनिवार्य डिपिआर,इआई,तथा कार्यविधि निर्माण गर्नुपर्ने प्रावधान रहेकोले डिपिआर निर्माण कार्य थालिएको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले बताउनुभयो ।

उहाँका अनुसार औद्योगिक ग्राममा कस्ता खाले उद्योगहरू समेट्ने कस्तो डिपिआर तयार गर्ने सवालमा सोमबार जिल्लास्थित नीजि क्षेत्र,उद्योगी व्यवसायी,नागरिक अगुवाबाट सुझाव सङ्कलन गरिएको छ । डिपिआरका लागि १० लाख र वातावरणीय प्रभाव मूल्याङ्कनका लागि ५ लाख बजेट समेत छुटाइएको प्रमुख प्रशासकीय अधिकृत कठायतले जानकारी दिनुभयो ।

स्थानीय स्रोत साधन,सिप,पुँजीको अधिकतम प्रयोग परिचालन रोजगारी सृजना गर्न कृषि तथा वनपैदावार सँग सम्बन्धित साना उद्योग स्थापना गर्नका लागि डिपिआर तयार गर्न सुझाव दिएका छन् ।

कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहमै पहिलो तातोपानीमा स्थापना हुन लागेको औद्योगिक ग्रामले जिल्लामा उत्पादन हुने कच्चा पर्दाथको प्रशोधन,बजारीकरण र रोजगारी सृजना ठुलो आयाम थपिने उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाले बताउनुभयो । उहाँले राडीपाखी,आरन,काष्टकला जस्ता परम्परागत उद्योगलाई पनि औधागिक ग्राममा सञ्चालन हुने गरी डिपिआर तयार गर्न सुझाव दिनुभयो ।

औद्योगिक ग्राम सञ्चालनका गर्न सुरुवातीमा जडीबुटी,फलफूल,पानी,ग्यामिन,काष्टकला तथा तरकारी खेती सम्बन्धी साना उद्योग सञ्चालन गर्ने गरी डिपिआर निर्माण प्रक्रिया थालिने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताउनुभयो ।

औद्योगिक ग्राम सञ्चालन पश्चात्,स्याउ,सिमि,ओखर,जल,जमिन,जडिबुटिको उत्पादन वृद्धि,प्रशोधन तथा बजारीकरणमा सहज हुने आशा गरिएको छ । तातोपानी गाउँपालिकाले पहिलो चरणमा पानी उद्योग सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष चौलागाईको भनाई छ ।
उनका अनुसार कार्यविधि बमोजिम पहिलो चरणमा औद्योगिक ग्राममा खानेपानी,बत्ती,घेराबार,शौचालय लगायतको पूर्वाधार निर्माण गरिने छ ।

उहाँले भन्नुभयो,“स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना,जीविकोपार्जन र गरिबी निवारण गर्न उत्पादन वृद्धि,प्रशोधनका जोड दिँदै छौ । औद्योगिक ग्राम स्थापनाले रोजगार सृजनामा सघाउने आशा छ ।”

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ १० गते औद्योगिक ग्राम स्थापनाको लागि सार्वजनिक सूचना जारी गरेको थियो । सोही सूचना अनुसार सबै कागजात पेश गरी निरन्तर पहल गरेका कारण मुलुकका ८ स्थान औद्योगिक ग्राम बनाउने सरकारको निर्णय अनुसार जुम्लाको तातोपानी ४ स्थित रातेखोलामा औद्योगिक ग्राम बन्ने भएको हो ।

औद्योगिक ग्राम सञ्चालन सम्बन्धी कार्यविधि पहिलो संशोधन २०७७ मा औधागिक ग्राम सञ्चालन गर्न २५ रोपनी जग्गा आवश्यक पर्ने उल्लेख भएपनि ३५ रोपनी सार्वजनिक जग्गा प्राप्त भइसकेको छ ।

रोजगारी सृजना उत्पादन प्रशोधनका क्षेत्रमा औद्योगिक ग्राम एक कोशेढुंगा सावित हुने तातोपानी ४ का वडाध्यक्ष अम्मर बहादुर रोकायाले अनुरोध गर्नुभयो । उहाँका अनुसार कार्यविधि अनुसार बाटो,प्रदूषण,लगायतका दृष्टिले असर नपर्ने गरी औद्योगिक ग्राम स्थापना गर्न डिपिआर तयार हुने छ । स्थानीय स्रोत, कच्चा पदार्थ, सीप र साधनको परिचालन गरी आर्थिक समृद्धि हासिल गर्न सकिने वडाध्यक्ष रोकायाको भनाई छ ।

पहिलो चरणमा पानी उद्योग खोल्ने लक्ष्य राखिएपनि लगानी जुटेको खण्डमा बिस्तारै आरन,काष्टकला,फलफूल,जडीबुटी,तरकारी खेती,ग्यामिन जाली लगायतका साना उद्योग खोलिने छ । गाउँमै औद्योगिक ग्राम स्थापना हुने भएपछि स्थानीय उत्साहित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button