तपाईँ सुन्दै हुनुहुन्छः

बिपी राजमार्गमा फोहोर गर्ने होटल र पसललाई कारबाही गरिने

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाले बिपी राजमार्गको आफ्नो क्षेत्रमा फोहोर गर्ने होटल, पसल र यात्रुलाई कारबाही गर्ने भएको छ । राजमार्ग सरसफाई अभियान सञ्चालन गर्दै आएको नगरपालिकाले राजमार्ग क्षेत्रमा फोहोर बढ्दै गएपछि यस्तो निर्णय गरेको हो ।

सोमबार विश्व वातावरण दिवसको सन्दर्भ पारेर आयोजित राजमार्ग सरसफाईको क्रममा यहाँ सञ्चालित होटल, पसलका साथै नीजि तथा सार्वजनिक यातायातका यात्रुले जथाभाबी फोहोर फालेको भेटिएपछि नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, प्रवक्ता टिकाबहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा, वडा अध्यक्षहरू रमेश तिवारी, अर्जुन कार्की, धर्मसिंह लामासहितका जनप्रतिनिधि, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, कर्मचारीसहितको टोलीले सचेत गराउनुभएको थियो । 

नगरपालिकाले यसअघि बिपी राजमार्गमा फोहोर फाल्ने सवारी साधन र यात्रुलाई सचेत गराउँदै कारबाही गर्ने चेतावनी दिएको थियो । नेपाल प्रहरीसँगको सहकार्यमा नगरपालिकाले सो राजमार्ग प्रयोग गर्दा फोहोरजन्य सामाग्री फाले नगरपालिकाको बजार व्यवस्थापन कार्यविधि, २०७८ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ अनुरुप कारबाहीसहित जरिवाना समेत गर्ने वातावरण अधिकृत सन्तोष काफ्लेले जानकारी दिनुभयो । नगरपालिकाले सवारीसाधनका चालक र यात्रुलाई फोहोर नफाल्न अनुरोध गर्दै चेतनामूलक स्टिकर समेत टाँसेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button