पानी नपर्दा किसान चिन्तामा, धानको बीउ राख्न ढिलाई

नवलपरासी । लामो समय वर्षा नभै खडेरी हुँदा पश्चिम नवलपरासीका किसान आकासे पानीको भर पर्नुपर्ने बाध्यताले धानको बिउ राख्न पाएका छैनन् । जेठको तेस्रो साता सकिँदा समेत बिउ राख्न नपाएपछि किसान चिन्तित छन् । असारको पहिलो सातासम्म बिउ नछर्ने हो भने रोपाइँ ढिलो हुने र उत्पादनमा ह्रास आउने उनीहरूको भनाइ छ ।
किसानले लगाएका अन्य बेमौसमी बाली समेत सुकेर जान थालेका छन् । खडेरीले माटो सुकेर किसानका खेत खोलाको सुक्खा बगर जस्तै देखिन थालेका छन् । केहीले भूमिगत सिचाई बाट पानी तानेर जेनतेन बीउ राखेका छन् । बीउ राखिसकेका किसानहरू पनि घामले बीउ सुक्ने होकि भन्ने चिन्तामा रहेका छन् “बोरिङबाट पानी तानेर बीउ त राखियो पानी परेन भने बोरिङको पानीले कति साध्य होला” र बर्दघाट १४ गङ्गाबस्तिका कृषक शुर बहादुर भण्डारीले भन्नुभयो।

‘जेठ महिनाको अन्तिम समयमा समेत वर्षा हुनुपर्ने हो । केही वर्षअघि आकासे पानीको भरमा धानको बिउ राख्ने गरिन्थ्यो, अहिले खडेरी पर्यो’ बर्दघाट १४ का किसान वंशी थारुले भन्नुभयो, ‘सिचाई सुविधा हुनेले राखेको बिउ पनि चर्को घामले पानी तातेर उम्रनेमा शङ्का छ ।’ एक हप्ता देखि चर्को घाम र तातो हावाका कारण जनजीवन प्रभावित भएको छ । यसको प्रत्यक्ष प्रभाव किसानलाई परेको हो ।
धान रोप्न ढिलाई हुँदा उत्पादन राम्रो नहुने किसानको अनुभव छ । यहाँ २० हजार ५ सय हेक्टरमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ। पम्पबाट पानी तानेर सिचाई गर्नलाई नदी तथा तलाउको सतह घटेको छ, भने साना खोलानाला समेत सुकेका छन् । वर्षातको पानी नपरेका कारण आफूहरू समस्यामा परेको किसानको गुनासो छ।








प्रतिक्रिया राख्नुहोस्