राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौँ । विधि र प्रक्रिया विपरीत नागरिकता विधेयक प्रमाणीकरण गरिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।
बैठकको सुरुमै नेकपा एमालेका सांसद भैरबसुन्दर श्रेष्ठले विवादास्पद र निष्क्रिय नागरिकता विधेयकलाई राष्ट्रपतिबाट प्रमाणीकरण गर्न लगाएर सरकारले विधि र प्रक्रिया मिचेको आरोप लगाउनुभयो ।
नागरिकता विहीनहरूले नागरिकता पाउन भन्ने पक्षमा सदैव आफूहरू रहेको उल्लेख गर्दै सांसद श्रेष्ठले विधेयकलाई पुनः संसद्मा ल्याएर पास गर्नुपर्ने बताउनुभयो ।
उहाँले प्रधानमन्त्रीले भारत भ्रमणका बेलामा फूलबारी बन्दरगाहसँग नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्न सकिने भनी दिएको अभिव्यक्तिको विषयमा समेत सदनलाई चित्त बुझ्दो जवाफ नदिएसम्म बैठक अगाडि बढ्न नसक्ने पनि बताउनुभयो ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उठेर विरोध गरिरहनुभएका नेकपा एमालेका सांसदहरूलाई पटक–पटक आसन ग्रहण गरी सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरेपनि उहाँहरूले आसन ग्रहण नगरेपछि सभाध्यक्ष तिमिल्सिनाले बैठक २९ मिनेटका लागि स्थगित गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्