तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व उपप्रधानमन्त्री सिंहद्वारा हाम्रो संस्कृति र हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनी अवलोकन

काठमाडौँ । पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालय भद्रकालीमा जारी ‘हाम्रो संस्कृति र हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनी आज अवलोकन गर्नुभयो  ।

मुलुकको सामाजिक, सांस्कृतिक र धार्मिक पक्षलाई समेटेर यस संस्थाले तस्बिर प्रदर्शनी गरेकामा खुसी व्यक्त गर्दै उहाँले यस्ता कार्यले निरन्तरता पाउने अपेक्षा गर्नुभयो । नेता सिंहले अवलोकनपछि राससका विभिन्न सेवा र कक्ष पनि  निरीक्षण गर्नुभएको थियो । 

गणतन्त्र दिवस–२०८० का अवसरमा राससले यही जेठ ११ गतेदेखि तस्बिर प्रदर्शनी सुरु गरेको हो । उक्त प्रदर्शनी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गर्नुभएको थियो । प्रदर्शनी यही जेठ २४ गतेसम्म चल्नेछ । प्रदर्शनीमा नेपालका सातै प्रदेश एवं काठमाडौँ उपत्यकाका गरी ७७ तस्बिर समाविष्ट गरिएको छ ।  

राससका फोटो पत्रकारले खिचेका र सम्पादन कक्षबाट सेवाग्राहीमा सम्प्रेषण भइसकेका नेपालका विभिन्न चाडपर्व, जात्रा, मेला, महोत्सव तथा मठमन्दिर, गुम्बा, चैत्यका साथै संस्कृति एवं सम्पदासम्बन्धी तस्बिर प्रदर्शनीमा राखिएको छ ।

पूर्वउपप्रधानमन्त्री सिंहलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल, प्रमुख समाचारदाता उत्तम सिल्वाल, प्रधान सम्पादक एकराज पाठक, आलेख शाखा प्रमुख कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतोसहित विभागीय प्रमुखले स्वागत गर्नुभएको थियो ।

राससले आफ्नो सेवा विविधीकरण गर्ने क्रममा गत साउन १ गतेदेखि श्रव्य दृश्य (भिडियो) सेवा पनि सञ्चालनमा ल्याएको छ । 

विसं २०१८ मा स्थापना भएको समाचारको मुहान राससले नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), तस्बिर (स्वदेशी र विदेशी) र अडियो सेवा आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button