राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण गरिएकोमा प्रदेशसभा बैठकमा खुशी व्यक्त
जनकपुरधाम । मधेश प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभाका सदस्यहरुले नागरिकता विहीनका लागि अति आवश्यक रहेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्नका लागि बनेको विधेयक राष्ट्रपतिले प्रमाणित गरिएकोमा खुशी व्यक्त गर्नुभएको छ ।
प्रदेशसभाको बैठकको विशेष समयमा बोल्दै अधिकांश पार्टीका प्रदेशसभाका सदस्यहरुले वर्तमान राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुभएपछि अव नागरिकता पाउनबाट वञ्चित रहेका जन्मसिद्ध नेपाली नागरिकका सन्तानले नागरिकता पाउने भएकोमा खुशी व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका प्रदेशसभाका सदस्य रामसरोज यादवले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनबाट वञ्चित भएकाहरूले अब नागरिकता पाउने भएकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले योग्य तथा सक्षम नागरिक भएपनि नागरिकता पाउन नसकेर बैङ्कमा खाता खोल्न तथा रोजगारी पाउनबाट वञ्चित हुनुपरेको समस्याको अन्त्य हुने भन्दै खुशी व्यक्त गर्दै राष्ट्रपति तथा सरकारप्रति धन्यवाद दिनुभयो ।
जनता समाजवादी पार्टीका प्रदेशसभाका सदस्य रामअशिष यादवले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता ऐनमा संशोधन गर्न बनेको विधेयक पारित गरेर नागरिकता पाउनबाट वञ्चित नेपाली नागरिकलाई ठूलो न्याय मिलेकाले प्रदेश सभाबाट धन्यवाद प्रस्ताव पारित गर्नका लागि आग्रह गर्नुभयो ।
नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभाका सदस्य प्रमोद कुमार यादवले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएकोमा राष्ट्रपति तथा नेपाल सरकार प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
बैठकको विशेष समयमा बोल्दै लोसपा नेपालका प्रदेशसभाका सदस्य रानी शर्मा तिवारीले नागरिकता विधेयक प्रतिनिधि सभाबाट दुई पटक पारित भएर राष्ट्रपति कहाँ पुगेकोमा राष्ट्रपतिले प्रमाणीकरण गरेर नागरिकता पाउनबाट वञ्चित भएकाहरूलाई न्याय दिनु भएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
प्रदेशसभाको बैठक भोलि दिउँसो १ः०० बजे बस्ने गरि स्थगित भएको छ ।







प्रतिक्रिया राख्नुहोस्