‘साइबर अपराध मुख्य चुनौती’
दोलखा । बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण राणाले प्रहरी सङ्ख्याको कमीका कारण दरबन्दी अनुसार प्रहरी पठाउन समस्या रहेको बताउनुभएको छ ।

जिल्ला भ्रमणको क्रममा दोलखा आउनुभएका डिआइजी राणासँग भएको सुरक्षात्मक अन्तरक्रियामा सरोकारवालाहरुले उठाएका विषयहरूको जवाफ दिनुहुँदै राणाले सबैको सहयोग र सहकार्यकै कारण शान्ति सुरक्षा कायम राख्ने कुरामा प्रहरी सफल भइरहेको बताउनुभयो । डिआइजी राणाले प्रहरी सङ्ख्या थप भइरहेकाले चाँडै नै आवश्यकता अनुसार जिल्ला, इलाका तथा पोस्टहरूमा प्रहरी पठाइने बताउनुभयो ।
अहिले साइबर अपराध मुख्य चुनौती रहेको उल्लेख गर्नुहुँदै डिआइजी राणाले जिल्ला तहमा समेत साइबर युनिट राख्न सके प्रभावकारी हुने बताउनुभयो । त्यसका लागि आफूले हर सम्भव प्रयत्न गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
सहभागीहरूले उठाएका विभिन्न विषयबारे प्रदेश प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीले प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी दिपक खड्का, पत्रकार महासङ्घ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्