सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
सप्तरी । राजविराज– सखडा सडकखण्ड अन्तर्गत सप्तरीको छिन्नामस्ता गाउँपालिका–३ मा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
दुर्घटनामा स्थानीय जोगेन्द्र यादवको छोरा बर्ष १८ को श्याम कुमार यादव र सोही ठाउँका रघुवर खंगका छोरा बर्ष ३० को विकास कुमार खंगको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा स्थानीय लाल बहादुर खंगको छोरा बर्ष २३ को अजय कुमार खंग घाइते भएका छन् । करिब १२ बजेर ३० मिनेटमा राजविराजदेखि सखडातर्फ जाँदै गरेको प्र–२–०१–००२प २५६० नम्बरको ३ जना सवार मोटरसाइकल आफै अनियन्त्रित भई नर्सिङ थान छेउमा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सखडाले जनाएको छ ।
मृतक दुवै जनाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घाइते अजय खंगको स्थानीय क्लिनिकमा उपचार भइरहेको तथा उनको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय सखडाका प्रमुख प्रहरी नायव निरीक्षक पप्पुकुमार झाले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्