विपद् व्यवस्थापन पूर्व तयारीमा जुटे सुर्खेतका स्थानीय पालिका

सुर्खेत । यस वर्षको मनसुन सुरु हुनै लाग्दा सम्भावित जोखिम हुनसक्ने भएकाले सुर्खेतका स्थानीय पालिकाहरू विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटेका छन् ।
वीरेन्द्रनगर नगरपालिका–वीनपा–१४, नम्बर वडा कार्यालयले आयोजना गरेको ‘विपद् व्यवस्थापन’ विषयक छलफल कार्यक्रममा मनसुनजन्य विपद् निकट आइसकेको हुँदा सबै पक्ष चनाखो हुनुपर्ने सहभागी जनप्रतिनिधिहरूले औँल्याउनुभएको हो ।
विपद्जन्य घटनाको न्यूनीकरण गरी जनधनको क्षतिलाई कम गर्नतर्फ सम्भावित विपद्जन्य जोखिम न्यूनीकरणमा सतर्कता अपनाउने कार्य शुरु भइसकेको जिल्लाका जनप्रतिनिधिहरूको भनाई छ ।

विशेष गरी गत वर्ष जोखिम देखिएका बस्ती तथा क्षेत्रहरूमा यसवर्ष जोखिम हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गरी थप सजगता अपनाउने कार्य जारी राखिएको वीरेन्द्रनगर–१४ नम्बरका वडाअध्यक्ष देवबहादुर रोकायले जानकारी दिनुभयो ।
उहाँले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीका लागि नगरपालिका कार्यालयसँगै अन्य संघ संस्थाहरूसँग समन्वय तथा सहकार्यको प्रयास भइरहेको बताउनुभयो ।
बैठकमा नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका सभापति रामलाल आचार्यले विपद् व्यवस्थापन कोषमा पर्याप्त रकम विनियोजन गरी विपद् व्यवस्थापनसम्बन्धी आवश्यक सामग्री खरिद गर्ने, मौज्दात राख्ने र परिचालन गर्ने नीतिगत निर्णय बनाउन सुझाव दिनुभयो ।

उहाँले वर्षाका कारण भूक्षय, बाढीपहिरो, राजमार्ग तथा स्थानीय तह जोड्ने मार्गमा क्षति हुनसक्ने भएकाले डोजर÷जेसिवी लगायतका मेसिनरी र तिनका चालक तथा ‘टास्र्क फोर्स’ लाई तयारी अवस्थामा राख्न जनप्रतिनिधिहरूसँग आग्रह गर्नु भयो । उहाँका अनुसार विपद् पूर्व तयारीका लागि वडाहरूलाई विशेष अधिकारसहितको बजेटको व्यवस्थापन गर्नपर्छ । विपद् व्यवस्थापनमा जनप्रतिनिधिहरूले स्वास्थ्य, सरसफाइ र खानेपानीमा विशेष ध्यान दिनु पर्ने उहाँको भनाइ थियो ।








प्रतिक्रिया राख्नुहोस्