तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस र माओवादीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाए

धनगढी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएका छन् । 

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गिएको बताउनुभयो । पार्टीका तर्फबाट सामाजिक विकास मन्त्रीमा झपट साउद र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा रमेश धामीलाई पठाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो । यसैगरी माओवादी केन्द्रले राज्यमन्त्रीमा गितादेवी मालको नाम पठाएको छ ।

यस्तै, आज बसेको काँग्रेस संसदीय दलको बैठकले पृथ्वीबहादुर सिंहलाई मन्त्री बनाउने निर्णय गरेको छ । प्रदेशसभा संसदीय दलको कार्यालयमा बसेको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा सिंहलाई पठाउने निर्णय गरेको कांग्रेस प्रदेश महामन्त्री मेघराज खड्काले बताउनुभयो । 

यता दुई वटा मन्त्रालय दाबी गरेको सत्ता साझेदार दल नागरिक उन्मुक्तिले सरकारमा सहभागी हुने मन्त्रीको नाम अझै टुङ्गो लगाउन सकेको छैन । दलका प्रमुख सचेतक खुशीराम चौधरीले आन्तरिक छलफलमा रहेको बताउनुभयो । यद्यपि नागरिक उन्मुक्तिले आज बिहान सम्मका लागि समय माग गरेपछि शुक्रबार अन्तिम समयमा मन्त्रिमण्डल विस्तार कार्य रोकिएको थियो ।

मुख्यमन्त्री कमलबहादुर शाहले आज सरकारलाई पूर्णता दिने तयारीमा आफू लागिपरेको बताउनुभयो । 

प्रदेश प्रमुखको कार्यालयका अनुसार मन्त्रीको सपथ ग्रहण समारोहका लागि आवश्यक तयारी गर्न भनेर खबर प्राप्त भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button