सुदूरपश्चिम प्रदेश सरकार विस्तार रोकियो
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार विस्तार अन्तिम समयमा रोकिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सत्ता गठबन्धन दलहरूको बैठकमा नागरिक उन्मुक्ति पार्टीले आन्तरिक छलफल गर्न भन्दै भोलि बिहान सम्मका लागि समय मागेपछि मन्त्रिमण्डल विस्तार रोकिएको बताइएको छ ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव धिरेन्द्र शाहीले आजका लागि मन्त्रिमण्डल विस्तार कार्य रोकिएको बताउनुभयो । नाउपाले भोलि बिहान १० बजेसम्म पर्खन भनेकोले रोकिएको र मुख्यमन्त्रीले भोलि सरकारलाई पूर्णता दिनुहुने शाहीले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्रबाट मन्त्रीका लागि रमेश धामी र झपट साउद तथा राज्यमन्त्रीमा गीता मालको नामावली प्राप्त भएको उहाँले बताउनुभयो ।
नागरिक उन्मुक्तिका प्रमुख सचेतक खुसीराम चौधरीले आज सत्ता गठबन्धन दलबिच छलफल भएको र त्यसमा दुई वटा मन्त्रालय दाबी गरिएको बताउनुभयो । काँग्रेसबाट शिवराज भट्ट र पृथ्वीबहादुर सिंहमध्ये एक जना मन्त्री हुने बताइएको छ ।
माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कमलबहादुर शाहले त्यसै दिन भौतिक पूर्वाधार विकास मन्त्रीमा काँग्रेसका प्रकाशबहादुर देउवा र आर्थिक मामिला मन्त्रीमा नेकपा एसका नरेशकुमार शाहीलाई नियुक्त गर्नु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्