प्रजातन्त्रमाथि खतरा देखियो : प्रथम राष्ट्रपति यादव

काठमाडौँ । प्रथम राष्ट्रपति डा रामवरण यादवले प्रजातान्त्रिक विचारको जग, आदर्श र सैद्धान्तिक आधार बलियो रहेकाले यसको भविष्य सुरक्षित रहेको बताउनुभएको छ ।
प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले विगतमा देशमा समस्या आउँदा गाउँ गाउँ पुग्ने गरेको कांग्रेस अहिले हराउन थालेकाले प्रजातन्त्रमाथि खतरा देखिएको भनाइ राख्नुभयो ।
गिरिजाप्रसाद कोइराला कांग्रेस सभापति हुँदा ३५ जना केन्द्रीय सदस्य भएर पनि देशभर पुग्ने कांग्रेसका नेता कार्यकर्ता एक सय ५० केन्द्रीय सदस्य भएर पनि जनतामा पुग्न नसकेकैले प्रजातन्त्रमाथि खतरा आउने प्रथम राष्ट्रपति यादवको भनाइ थियो ।
पुरानो प्रजातान्त्रिक दलको निष्क्रियताले प्रजातन्त्रमाथि खतरा आउन सक्ने भएकाले सचेत रहन पनि उहाँले समाजका सदस्यहरूलाई आह्वान गर्नुभयो । प्रजातन्त्र जोगाउन समाजका सदस्यले आलोचनात्मक भएर प्रस्तुत हुनुपर्ने प्रथम राष्ट्रपति यादवको भनाइ थियो ।
बिहीबारसम्म राजधानीमा चल्ने समाजको महाधिवेशनमा सात प्रदेश र ७० जिल्लाका प्रतिनिधिको सहभागिता रहेको अध्यक्ष डा केदारनरसिंह केसीले जानकारी दिनुभयो ।
समाजको महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्य समितिसमेत गठन गर्ने जनाइएको छ । रासस







प्रतिक्रिया राख्नुहोस्