तपाईँ सुन्दै हुनुहुन्छः

सूचनाको पहुँच हुने र नहुने बीचको दूरी हटाउन सेवा प्रदायकले सोच्नुपर्छ : मन्त्री शर्मा 

फाइल तस्बिर

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधि सम्बन्धी सेवालाई सस्तो र गुणस्तरीय बनाउँदै सबैको पहुँचमा पुर्‍याउन सेवा प्रदायक र नियामक निकायले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । 

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा आज नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको ‘स्पेक्ट्रम म्यानेजमेन्ट’ सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले सूचना प्रविधिको पहुँच हुने र नहुने बीचको दूरी हटाउन सेवा प्रदायकले सोच्नुपर्ने बताउनुभयो । 

मन्त्री शर्माले सरकार सूचना प्रविधिको पहुँच हुने र नहुनेको दूरी कम गर्न लागिपरेको र अझै पनि दूरदराजमा गुणस्तरीय मोबाइल सेवासमेत पुग्न नसकेको बताउनुभयो । 

दूरसञ्चार क्षेत्रमा देखिएका समस्या, सुधार्नुपर्ने विषय, सूचना प्रविधि क्षेत्रबाट राजस्व सङ्कलन गर्ने, दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्नेलगायत विषयमा समीक्षा हुनुपर्ने औँल्याउनुभयो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले डिजिटल विभेद् न्यून गर्न र डिजिटल समावेशिता कायम गर्ने गरी पूर्वाधार निर्माण गर्न सरकार जुटेको जानकारी दिनुभयो । 

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको आर्थिक विकासमा डिजिटल रूपान्तरणले सहयोग पु¥याएको र दीर्घकालीन पूर्वाधार निर्माणमा प्राधिकरण जुटेको स्पष्ट पार्नुभयो । 

सम्मेलनमा ‘नेपालमा दूरसञ्चारको बजार र आगामी बाटो’, ‘उदाउँदो मोबाइल प्रविधि’ र ‘इन्टरनेटको वर्तमान अवस्था र भविष्यको आवश्यकता’लगायत तीन सत्रका विभिन्न विषयमा विज्ञसँग अन्तरक्रिया गरिनेछ ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button