मदन–आश्रित स्मृति दिवसका अवसरमा जर्नल अफ प्रोडक्टिभ डिस्कोर सार्वजनिक

काठमाडौँ । मदन भण्डारी मेमोरियल कलेजले ३०औँ मदन–आश्रित दिवसका अवसरमा जर्नल अफ प्रोडक्टिभ डिस्कोर प्रकाशन गरी आज सार्वजनिक गरेको छ ।
जर्नल अफ प्रोडक्टिभ डिस्कोर सार्वजनिक कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री एवं मदन भण्डारी फाउण्डेशनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले मुलुकको विकास र समृद्धिका लागि प्राज्ञिक क्षेत्रको अनुसन्धान महत्वपूर्ण हुने बताउनुभयो ।
मदन भण्डारी कलेज सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका पाण्डेले विशेष अनुसन्धानमै केन्द्रित रहेर वर्षमा २ वटा जर्नल प्रकाशन गरिने जानकारी दिनुहुँदै जर्नलले शैक्षिक उन्नयनमा समेत योगदान पुर्याउने विचार व्यक्त गर्नुभयो ।
त्यसैगरी, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. प्रेम सागर चापागाईँले विश्वका ठूला राष्ट्रहरूले प्राज्ञिक अनुसन्धानकै आधारमा विकासमा फड्को मारेको बताउनुभयो ।
यस अवसरमा जर्नलका सम्पादक जगदीश पोखरेलले विभिन्न अनुसन्धानात्मक लेख रचना समावेश गरिएको जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्