तपाईँ सुन्दै हुनुहुन्छः

पक्षपातरहित ढङ्गले विकास गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकासका योजना छनोटमा पक्षपात हुँदा त्यसले विद्रोह निम्त्याउने सक्ने चिन्ता व्यक्त गर्नुभएको छ ।

आफ्नो जन्म गाउँ पर्वतको मोदी गाउँपालिका–७ को वडा कार्यालय भवनको उद्घाटन गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले पक्षपातरहित ढङ्गले विकास निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । तीनवटै तहका सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी गरिरहेका बेला योजनाबद्ध र आवश्यकताका आधारमा योजना छनोट गर्न उहाँले आग्रह गर्नुभयो ।

पर्वत जिल्लाका सबै वडा कार्यालयहरूसम्म पुग्ने सडकहरू कालोपत्रे हुने चरणमा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अहिले काम भइरहेका र योजना छनोट प्रक्रियामा रहेका स्थानका बासिन्दालाई पनि धैर्यता गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्प तिमिल्सिना, गण्डकी प्रदेशसभाका सदस्य भक्त कुँवर, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, निवर्तमान अध्यक्ष प्रेम पौडेल, उपाध्यक्ष बिमल लामिछाने, वडा नं ७ का अध्यक्ष दुर्गाप्रसाद शर्मा, निवर्तमान वडाअध्यक्ष वसन्त गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त वडा कार्यालय भवन रु ६८ लाखको लागतमा निर्माण भएको थियो । भवन निर्माणका लागि रुद्रप्रसाद तिमिल्सिना र नीलकुमारी तिमिल्सिनाले दुई रोपनी ६ आना जग्गा निःशुल्क दिनुभएको थियो भने स्थानीय लोकनाथ रिजालले बाटोका लागि जग्गा प्रदान गर्नुभएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button