लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न राजनीतिक दलहरूलाई आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन तोकिएको समयसीमा भित्रै पेश गर्ने राजनीतिक दललाई प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ ।

आयोगको बैठकले आर्थिक वर्ष २०७८/८९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयसीमा भित्रै पेश गर्ने ८२ (बयासी) राजनीतिक दललाई आयोगमा पेश गरेको लेखापरीक्षण प्रतिवेदन ७ (सात) दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम, र सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले ७ (सात) दिनभित्र सोको जानकारी आयोगमा गराउन निर्देशन दिएको छ ।
आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखापरीक्षण गराई एक महिनाभित्र आयोगमा लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन निरन्तर दुई आर्थिक वर्ष सम्म पेश नगर्ने राजनीतिक दल मुस्कान सेना नेपाल पार्टी, शिब सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिकलाई दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन कानुन बमोजिम तोकिएको समयावधि भित्र किन पेश नगरेको हो ? लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गर्ने कार्य नगरेकोले तपाईँलाई राजनीतिक दलसम्बन्धी ऐन बमोजिम किन कारबाही हुनु नपर्ने हो ? भन्ने ब्यहोराको आफ्नो सफाइ सहितको स्पष्टीकरण राजनीतिक दलसम्बन्धी ऐन बमोजिम ७ (सात) दिनभित्र पेश गर्न आयोगले निर्देशन दिएको छ ।
यसैगरी गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधि भित्र पेश नगरी समयावधि व्यतीत भएपछि पेश गर्ने ९ (नौ) राजनीतिक दल र गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने १६ (सोह्र) राजनीतिक दललाई गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन कानून बमोजिम तोकिएको समयावधि भित्र किन पेश नगरेको हो ? लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गर्ने कार्य नगरेकोले तपाईँलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (५) को खण्ड (क) बमोजिम किन कारबाही हुनु नपर्ने हो ? भन्ने ब्यहोराको आफ्नो सफाइ सहितको स्पष्टीकरण सोही ऐनको दफा ५४ को उपदफा (८) बमोजिम ७ (सात) दिनभित्र पेश गर्न निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्