तपाईँ सुन्दै हुनुहुन्छः

३ महिनामा लागु औषधसम्बन्धी २३ ओटा मुद्दा दर्ता

कैलाली । ईलाका प्रहरी कार्यालय टीकापुरले ३ महिनामा २३ ओटा लागु औषधसम्बन्धी मुद्दा दर्ता गरेको छ ।

गत माघ २४ गतेदेखि वैशाख २६ गतेसम्म लागु औषधका २३ ओटा मुद्दा दर्ता गरी ३३ जना पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।

लागु औषधमा संलग्नहरू अधिकांश युवा रहेका छन् । अधिकांश १६ देखि ३५ वर्ष सम्मका युवा बढी लागु औषधमा संलग्न पाइएको प्रहरीले जनाएको छ ।

लागुऔषध सेवनका नागरिकहरूको सामाजिक आर्थिक र शारीरिक रुपमा असर पार्नुका साथै उसको अकालमै मृत्यु हुनेसम्मको अवस्था निम्त्याउने भएकाले यस विषयमा सूचना प्रदान गर्न प्रहरीले सबैलाई आग्रह समेत गरेको छ ।

ईलाका प्रहरी कार्यालय टीकापुरले ३ महिनाको अवधिमा लागु औषधसहित सार्वजनिक हित विरुद्धका १२, जुवा र चोरी सम्बन्धी ३/३ लगायत ६६ वटा मुद्दा दर्ता गरी ९३ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । सोही अवधिमा १० जना फरार प्रतिवादीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button