आर्थिक समस्या समाधान गर्ने विशिष्ट खालका कार्यक्रम आउनु पर्नेमा सांसदहरूको जोड

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले मुलुकमा आर्थिक रुपमा देखिएका समस्या समाधान गर्ने गरी प्राथमिकता निर्धारण गरेर कार्यक्रम तथा बजेट आउनु पर्नेमा जोड दिनुभएको छ ।
गत आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८०/०८१ विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरुले परम्परावादी र कर्मकाण्डी रुपमा नभई कार्यान्वयनमा लैजाने गरी व्यवहारिक रुपमा सिद्धान्त र प्राथमिकता आउनु पर्ने बताउनु भयो ।
नेपाली कांग्रेसका नेता गगन थापाले सुशासनमा आधारित भएर भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउने प्रतिबद्धतासहित सिद्धान्त र प्राथमिकता आउनु सकारात्मक रहेको भन्दै भ्रष्टाचारमा संलग्न जुनसुकै तह र तप्काको भएपनि कारवाहीको दायरामा ल्याउनु पर्ने बताउनु भयो ।
नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरुङले मुलुकको अर्थतन्त्र मन्दीको चपेटामा रहेकाले यसलाई निकास दिनेगरी स्पष्ट र बुँदागत रुपमा विशिष्ट योजना आउनु पर्ने बताउनुभयो ।
नेता सुब्बाले नक्कली भुटानी शरणार्थीका विषयमा सरकारले शुरु गरेको अभियानमा एमाले सहयोग गर्न तयार रहेको भन्दै विधि पूर्वक भइहरेको छानबिनमा सहयोग गर्न नेता टोपबहादुर रायमाझीलाई पार्टीले निर्देशन गरेको जानकारी गराउनुभयो । ।
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले भ्रष्टाचार विरुद्धको कारबाही निष्कर्षमा पुर्याउन सरकारलाई आग्रह गर्नुभयो । नेता शर्माले आर्थिक सङ्कुचन र वित्तीय चुनौती समाधान गर्न सरकारी खर्च बढाउनुको विकल्प नरहेकाले बजेट बढाउन स्रोत परिचालन गर्नु पर्ने भन्दै राम्रा कार्यक्रम कार्यान्वयनमा कानुन बाधक रहेकाले कार्यक्रमसँगै कानुन निर्माण पनि आवश्यक रहेको बताउनु भयो ।
छलफलमा सांसदहरुले वर्तमान अवस्थामा सुधार ल्याउने खालका कार्यक्रम आउन नसकेको भन्दै सिद्धान्त, प्राथमिकता, कार्यक्रम र बजेट अहिलेको आवश्यकतालाई विशेष ध्यान दिएर आउनु पर्ने बताउनुभयो ।
प्रतिनिधि सभामा पूर्व बजेटमाथिको छलफल जारी रहेको छ । छलफल सकिएसँगै आजै अर्थमन्त्री डा.प्रकाशशरण महतले संसदमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले मनोनयन गर्नु भएको राज्यव्यवस्था तथा सुशासन समितिमा सांसद उपेन्द्र यादवको नामलाई सभाले सहमति जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्