तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष तिमिल्सिना र दक्षिण कोरियाका राजदूत सुकबीच शिष्टाचार भेट

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग उहाँकै कार्यकक्ष सिंहदरबारमा बिदाई भेट गर्नुहुँदै नेपालका लागि दक्षिण कोरियाका राजदूत  पार्क चोङ सुक ।  तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासंग नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरिया) का राजदूत पार्क चोंग सुकले बिदाई शिष्टाचार भेट गर्नुभएको छ ।

नेपालमा आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएका राजदूत सुकले सिंहदरबार स्थित कार्यकक्षमा बुधबार बिदाई शिष्टाचार भेट गर्नुभएको हो ।

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरियाले नेपालमा आफ्ना विद्युतीय उपकरण उत्पादन गर्ने उद्योग सञ्चालन गरेकोमा धन्यवाद दिँदै सवारी साधन उत्पादन गर्ने र अन्य उद्योग स्थापना गरेर नेपालमा रोजगारीको अवसर सृजना आग्रह गर्नुभयो । उहाँले धेरै नेपाली युवायुवतीहरूलाई इपिएस मार्फत रोजगारीको अवसर दिएकोमा धन्यवाद पनि दिनुभयो ।

बिदाई तथा शिष्टाचार भेटघाटपछि अध्यक्ष तिमिल्सिनालगायत सचिवालयका टोलीसहित राजदूत सामूहिक तस्बिरमा । तस्बिर : रत्न श्रेष्ठ/रासस

सो अवसरमा हाल सम्म नेपालमा कोरियन एयरलायन्सले मात्रै उडान भर्दै आएकोमा नेपाल एयरलायन्सले पनि उडान गर्न सकेको अवस्थामा प्रतिस्पर्धा हुँदा नेपाली कामदारले सस्तो मूल्यमा उडान गर्दा राहत मिल्ने भएकाले त्यसका लागि पनि पहल गर्न पनि आग्रह गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले दुवै देशका अन्तरसंसदीय तथा उच्चस्तरीय भ्रमणको आदानप्रदान हुने अपेक्षा पनि गर्नुभयो । सो अवसरमा दक्षिण कोरियाका राजदूतलाई  सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नु भएकोमा हार्दिक बधाई दिँदै गणतन्त्र कोरियाको राजदूतको रुपमा नेपाल–कोरिया सम्बन्धलाई थप मजबुत, प्रगाढ र व्यापक बनाउन निर्वाह गर्नु भएको सक्रिय भूमिकाको लागि धन्यवाद पनि दिनुभयो ।

शिष्टाचार भेटका अवसरमा  दक्षिण कोरियाका राजदूत पार्क चोंग सुकले नेपालमा लगानी मैत्री वातावरण बन्न सकेको अवस्थामा कोरियाका धेरै उद्योगहरू नेपालमा आउन सक्ने  कुरामा पनि जोड दिनुभयो। उहाँले दुवै देशका बिचमा भविष्यमा उच्चस्तरीय भ्रमण हुने विश्वास ब्यक्त गर्नुभएको थियो । उहाँले नेपाल र दक्षिण कोरियाका बिचमा सम्बन्ध प्रगाढ बनाउन राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले गर्नुभएको पहलका लागि प्रमुख आधार बन्न पुगेको भन्दै अध्यक्षको प्रशंसा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button