‘आर्थिक अस्थिरता समाधानका लागि सरकार प्रतिबद्ध’
नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक रुपमा देखिएको अस्थिरता र प्रतिकुल अवस्थाको समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘देशमा अहिले जे जस्तो परिस्थिति देखिएको छ आर्थिक रूपले, त्यसको समाधान गर्ने हिसाबले सुशासन र सामाजिक न्याय स्थापित गर्ने कुरामा हामी अघि बढिरहेका छौ ।’

बुद्ध जयन्तीको विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले बृहत्तर लुम्बिनी विकासको गुरुयोजना अन्तर्गत रामग्राम स्तूप एक महत्त्वपूर्ण धार्मिक एवम् पर्यटकीय स्थल रहेको बताउनुभयो । बुद्ध दर्शनले लाखौँ मानिसलाई सामाजिक ऐक्यबद्धता र सद्भावको मार्गमा डोर्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
बुद्ध सर्किटको अवधारणा अन्तर्गत ४ वर्षअघि तयार भएको गुरुयोजनाको बारेमा उल्लेख गर्दै प्रधानमन्त्री दाहालले रामग्राम स्तूप र बुद्धसँग जोडिएका हरेक धार्मिक स्थलको विकास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
त्यस अवसरमा श्रीलङ्काबाट उपहारमा आएको गौतम बुद्धको अस्तु धातुको अवशेष प्रधानमन्त्रीलाई देखाइएको थियो ।
गौतम बुद्धको एक मात्र अस्तु धातु रहेको ऐतिहासिक धार्मिक स्थलको रामग्राम नगरपालिकाले कोलिय गणराज्यको घोषणा गरी संरक्षण गर्दै आइरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्